नेपालीमा एउटा उखान छ– पानीबिनाको माछा जस्तो ! यो उखान कुनै पनि मान्छेको असहाय अवस्थालाई प्रतिबिम्बित गर्न प्रयोग गर्ने गरिन्छ । हुन पनि हो, माछालाई पानीबाट बाहिर निकालेर जमीनमा राख्ने हो भने, त्यो असहाय अवस्थामा पुग्न जान्छ र छट्पटाउन थाल्छ । केही समयसम्म त्यत्तिकै त्यसलाई पानीबाट बाहिर राख्ने हो भने, त्यो माछा मरेर जान्छ ।
यसरी तपाईं हामीले थाहा पाएकै कुरा हो कि, पानीबिना माछा बाँच्नै सक्दैन । माछाको शरीरमा मान्छेको जस्तो अक्सिजन ग्रहण गर्ने फोक्सो नै हुँदैन, त्यसैले यसले हावाबाट अक्सिजन लिन सक्दैन । त्यसको सट्टा माछाको शरीरमा श्वास फेर्नको लागि फुल्का (Gills) हुन्छ, जुन अंगको मद्दतले माछाले पानीमा घुलिएको अक्सिजन लिन र सास फेर्न सक्छ । तर माछा पानीमा मात्र बाँच्न सक्छ भन्ने हाम्रा धारणा सबै माछामा चाहिँ लागू हुन सक्दैन । यस संसारमा यस्ता अचम्म र अद्भूत खालका माछाहरु पनि पाइन्छन्, जुन माछाले पानीबाट मात्र हैन, हावाबाट पनि अक्सिजन लिन सक्छ, अझ कतिपय त्यस्ता माछाले त आफ्नो अधिकांश समय पानीभन्दा बाहिरै जमीनमा बसेर बिताउँछ । वास्तवमा, विशेष स्थितिमा बाँच्न बाध्य माछाहरु, जस्तो कि, प्राकृतिक रुपमै हिलो वा दलदलमा बाँच्न बाध्य माछाहरुको शरीरमा श्वास प्रश्वासका लागि अतिरिक्त अंगहरुको समेत विकास हुन पुगेका हुन्छन्, जुन अंगको मद्दत लिएर त्यस्ता माछाले हावामा घुलिएको अक्सिजनलाई समेत ग्रहण गर्न सक्छ ।
यसरी हावाबाट समेत अक्सिजन लिन सक्ने वा हावामा पनि श्वास फेर्न सक्ने माछाहरुमा क्लाइम्बिङ्ग पर्च (Climbing perch, वैज्ञानिक नाम Anabas scandens) नाम गरेको माछा विशेष उल्लेखनीय छ । दक्षिणपूर्वी एशिया क्षेत्रमा विशेष गरी पाइने यो माछाको फुल्का (gill) मुनि यस्तो अंग पनि विकसित भएको हुन्छ, जुन अंगको मद्दतले यो माछाले पृथ्वीको वातावरणबाट समेत श्वास लिन सक्छ । पानीबाट बाहिर जमीनमा आउँदा यो माछाले त्यही अंगको मद्दतले अक्सिजन लिएर बाँच्छ । यसरी जमीनमा आउँदा यो माछाले पानीमा तीब्र गतिमा पौडेर हुत्तिन्छ र आफ्नो छातीमा भएको पखेटा, गिलको छेउमा रहेको काँडाजस्ता अंगहरु र पुच्छर समेतको मद्दतले जमीनमा घस्रदै यताउता सर्छ । यसरी जमीनमा आउँदा यस माछाले आफ्नो पानीको मूल स्थानबाट सयौं मिटर पर पर समेत जाने गर्छ ।
अझ इन्डो–मलायन मडस्कीपर (mudskiper, वैज्ञानिक नाम Periophthalmus koelreuteri) प्रजातिको माछा त आफ्नो वासस्थान रहेको पोखरी, खोलानाला वा नदीको छेउछाउका ढुंगाहरुमा तथा रुखका हाँगाविगाहरुमा समेत चढ्ने गर्छ । यसरी त्यस्ता ढुंगा वा रुखका हाँगाविगाहरुमा चढ्दा यस माछाले आफ्नो छातीमा रहेको पखेटालाई हात वा खुट्टा जस्तो गरी उपयोग गर्छ । यो माछा निकै लामो अवधिसम्म, अझ आफ्नो छाला पूरै सुख्खा नहोउन्जेलसम्म पनि बाहिर हावामै बाँच्न सक्छ । अझ यस माछाको आँखा त विचित्रकै हुन्छ । यस माछाले आफ्नो वरिपरि १० मिटर टाढासम्म देख्न सक्छ । फेरि यसले आफ्नो दुइटै आँखाले भिन्न भिन्न दिशामा एकैचोटी हेर्न सक्छ ।
अफ्रिका, अस्ट्रेलिया र दक्षिण अमेरिकातिर पाइने लंग फिस (Lungfish, वैज्ञानिक नाम Dipnoi) नामक प्राचीन समूहका माछामा त अविकसित फोक्सो जस्तै हावा थैली समेत हुन्छ । यो प्रजातिको माछा पनि पानीबिना लामो समयसम्म बाँच्न सक्छ । सामान्यतः के सोचिन्छ भने, यो माछाले खोला, नदी वा पोखरीहरुमा पानी सुकेको बेलामा वा फुल्कामार्फत् श्वास फेर्न नसक्ने अन्य त्यस्तै स्थितिमा श्वास लिनको लागि त्यही अंगको प्रयोग गर्छ । तर वास्तविकता ठीक त्यस्तै चाहिँ हुँदैन । यो माछाको त्यो हावा थैली श्वासप्रश्वास क्रियाको लागि त्यति विकसित भइसकेको हुँदैन, त्यसैले त्यस्तो अवस्थामा यो माछाले आफूलाई पोखरी वा तलाउको गहिरो भागमा हिलोमा लुकाउँछ र प्रायः सम्पूर्ण शारीरिक प्रक्रियालाई नै रोकेर शीतनिद्रा (hibernation) को जस्तो अवस्थामा आफूलाई पुर्याउँछ । पछि जब वर्षात् शुरु हुन्छ वा अन्य कुनै कारणले पोखरीमा पानी हुन थाल्छ, यो माछा आफ्नो त्यो अवस्थाबाट जाग्छ र पुनः फुल्कामार्फत् श्वास फेरेर आफूलाई तन्दुरुस्त र क्रियाशील बनाउँछ । यस प्रजातिको माछामा पनि अस्ट्रेलियन र अफ्रिकन लंगफिसले चाहिँ आफूलाई हिलोमा पूरै लुकाउँदैन, यो स–साना हिले–पोखरीहरु (mudpuddles) मा बाँच्छ ।
अर्कोतिर एकथरि माछामा चाहिँ श्वासप्रश्वास क्रियाको लागि अर्कै किसिमको प्रणाली समेत विकास भएको पाइन्छ । विशेष गरी सफा पानीमा पाइने (Fresh water fish,, वैज्ञानिक नाम Misgumus fossilis) माछाको आन्द्रामा श्वास लिनको लागि एउटा विशेष किसिमको व्यवस्था हुन्छ । अंग्रेजी भाषामा मौसमी माछा (Weather fish) को नामले समेत चिनिने यो माछाले फुल्काबाट अक्सिजन ग्रहण गर्न नसकेको अवस्थामा पानीबाट उफ्रेर सतहमा आउँछ र हावा निल्छ । यसरी निलेको हावाबाट त्यस माछाको आन्द्रामा रहेको एक विशेष अंगले अक्सिजन सोस्छ र आफूलाई चाहिने अक्सिजनको आवश्यकता पूर्ति गर्छ । अक्सिजन सोसेर बाँकी रहेको हावाचाहिँ यसको गुद्वार भएर बाहिर निस्कन्छ ।
जमीनमा श्वास फेरेर बाँच्न सक्ने माछाको कुरा गर्दा इल माछाको पनि प्रसंगवश उल्लेख गर्न सकिन्छ । यो माछाले पनि पानीमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा बीचमा जमीनको भाग पर्यो भने, वर्षाको पानी, भिजेको घाँस र स–साना खोल्साखोल्सीहरुको बाटो भएर जमीनको ठूलै हिस्सालाई समेत पार गर्ने गर्छ । यस क्रममा यसले हावाबाट समेत अक्सिजन ग्रहण गर्न सक्छ ।
यस्ता जमीन वा हावामा पनि बाँच्न सक्ने माछाहरुबाट हामी प्राचीन कालमा जलचर जीवहरु कसरी थलचर बन्न पुगे भन्ने जीव विकासको झलक देख्न सक्छौं । यसबाट हामी आजभन्दा करीब ३५० मिलियन वर्षअगाडि पानीमा बस्ने माछा तथा जीवहरु जमीनमा बसोबास गर्ने क्रममा हिँड्डुल गर्न तथा श्वास फेर्ने लगायतका कुराहरुमा के कस्ता समस्याहरु भोग्न पुगेका थिए भन्ने कुराको अध्ययन र अनुमान पनि हामी यी माछाहरुबाट गर्न सक्छौं ।
माछा पनि पानीमा डुब्छ !
सुन्दा अचम्म लागे पनि केही प्रजातिको माछा पानीमा डुब्छ भन्ने कुरा साँचो हो । अक्विरियममा पालिने विभिन्न प्रजातिका माछाहरु गौरामी (gourami), पुरिङ्ग (purring gourami), स्वर्गको माछा (paradise fish) र अन्य केही प्रजातिका माछाहरुले पानी र हावा दुबै ठाउँबाट अक्सिजन लिन सक्छ ।
मूलतः अक्विरियमको पानीमा अक्सिजनको मात्रा सामान्यतः कम नै हुने हुँदा यस्ता माछाहरुले पानीबाट भन्दा पनि पनि बढी हावाबाटै अक्सिजन लिने गर्छन् । यसका लागि त्यस्ता माछाहरुले पानीको सतहमा आएर हावाका बुलबुल निल्छन् । यसरी निलेको हावा त्यो माछाको फुल्कामुनि रहेको लाबिरिन्थ (labyrinth) नामक श्वास लिने विशेष अंगमा आइपुग्छ । यो अंग लामेल्ले (lamellae) र प्लाटेलेट्स (platelets) ले बनेको हुन्छ । त्यस अंगमा पातलो चिप्लोचिप्लो झिल्ली र प्रशस्त मात्रामा रक्तबाहिनी नलीहरु पनि रहेका हुन्छन् । तिनै झिल्ली र रक्तवाहिनी नलीहरुको मद्दतले त्यस्ता माछाले हावामा रहेको अक्सिजनलाई सोस्छ ।
यस्ता माछाहरु लामो समयसम्म पानीको सतहमुनिबाट हावाको सतहसम्म आइपुगेनन् भने उनीहरु पनि डुब्न पुग्छन् र मर्छन् । त्यस्ता माछाहरु कति समयमा डुब्छन् त भन्ने कुरा चाहिँ तिनीहरुलाई राखिएको अक्विरियममा अक्सिजनको मात्रा कत्तिको पर्याप्त छ भन्ने कुरामा निर्भर गर्छ ।
हावामा उड्ने माछा
उड्ने माछा केही प्रजातिका माछाहरु हावामा उड्न सक्छन् । हावामा उड्न सक्ने यस्ता माछाहरुमा एट्लान्टिक, हिन्द र प्रशान्त महासागरहरुमा पाइने उड्ने माछा (flying fish, वैज्ञानिक नाम Exocoetidae) विशेष उल्लेखनीय छ ।
यो माछा पानीमा आफ्नो छातीसम्मको भाग माथि उठाएर तीब्र गतिमा दौडन्छ । यसरी दौडदा यो माछाले आफ्नो अगाडि पछाडि दुबै भागको पखेटा र पुच्छर समेत फिँजाएको हुन्छ । दौड्दा दौडदै यसले आफ्नो सम्पूर्ण शरीरलाई नै पानीबाट माथि उठाउँदै लैजान्छ र हावामा १० देखि १२ सेकेण्डसम्म उड्छ । कहिले काहीँ त यो माछा २० सेकेण्डसम्म पनि उड्न सक्छ । उड्दाको यस अवधिमा यस माछाले २०० मिटरसम्मको दूरी हावामै पार गर्न सक्छ ।
यसरी उड्दा माछालाई समुद्रको सतहमा हुने हल्का हावाले मद्दत पुर्याइरहेको हुन्छ । यो माछा पानीको सतहभन्दा केही माथि माथि मात्र उडिरहेको हुन्छ तर कहिले काहीँ समुद्री हावाहरुले यसलाई धेरै माथि उडाएर निकै परसम्म पुर्याइदिन सक्छ ।
यो माछा उड्नुको मूल कारण चाहिँ आफ्ना दुश्मन माछाहरुबाट बच्नु नै हो किनभने, यो माछाका अधिकांश दुश्मन माछा नै हुन्छन् र त्यस्ता दुश्मन माछाहरु चाहिँ उड्न सक्दैनन् । यो प्रजातिको उड्ने माछा सुस्त उड्ने माछा (passive fliers) मानिन्छ । तर यो प्रजाति भन्दा भिन्न अन्य दुई प्रजातिका उड्ने माछाहरु (Gasteropelecus / Carnegiella) ले त आफ्नो पखेटालाई चराहरुले जस्तै हल्लाउँदै उड्न सक्छ ।
चार वटा आँखा भएको माछा
केही माछाहरु पानीको सतह नजिकै बस्न रुचाउँछन् । यस्ता माछाहरुले पानीको सतहमाथिको प्रकाश र पानीभित्रको प्रकाश– दुबै प्रकाशमा हेर्नुपर्ने हुन्छ । यसै कारणले गर्दा यस्ता माछाको आँखा दुईवटै भए पनि त्यो आँखा क्षितिजपट्टिबाट (horizontally) दुई भागमा विभाजित भएका हुन्छन् । यसमध्ये दुबै आँखाका माथिल्लो आधा भागहरुको बनौट पानीको सतहभन्दा बाहिर हावामा हेर्ने किसिमको हुन्छ भने तल्लो आधा भाग चाहिँ पानीभित्र हेर्नको लागि हुन्छ । फलतः यस्ता माछाको आँखा संख्याले दुई वटा भएपनि त्यसले चारवटा आँखाको काम गर्छ ।
यस्ता माछामा भिभिपारोस (Viviparous, वैज्ञानिक नाम Anableps tetrophthalmus) नाम गरेको माछा विशेष प्रख्यात छ । यो प्रजातिको माछा मेक्सिको र दक्षिण अमेरिकाका ताजा पानीहरु भएको क्षेत्रमा पाइन्छ । यो पानीको सतहकै मुनि बस्ने गर्छ । यसरी बस्दा यसको आँखाको माथिल्लो भाग पानीको सतहभन्दा बाहिर र तल्लो भाग पानीभित्र हुन्छ । रोचक त के छ भने, यसले एकैचोटी पानी बाहिर र पानीभित्र भिन्नाभिन्नै क्षेत्रमा हेर्न सके पनि त्यसरी हेर्नको लागि भने यसले एउटै लेन्सको प्रयोग गर्छ । यस माछाको आँखाको लेन्स माथिल्लोपट्टि फैलिएको र तलपट्टि साँघुरिँदै गएको हुन्छ ।
- See more at: http://www.ratopati.com/2015/02/16/209251.html#sthash.pndPCsgP.dpuf
Post a Comment