काठमाडौं- स्नातकोत्तर तहका मेजर अंग्रेजी विषयका विद्यार्थी शुक्रबार थेसिस राइटिङको परीक्षा दिन परीक्षाकेन्द्र पुगे।उनीहरुको परीक्षाकेन्द्र थियो- बागबजारस्थित पद्मकन्या क्याम्पस। तर परीक्षाकेन्द्रमा उनीहरु सबैका लागि न सिटप्लान थियो न प्रश्नपत्र।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मानविकी शास्त्र संकाय स्नातकोत्तर तहको दोस्रो वर्षको थेसिस राइटिङ परीक्षाकेन्द्र तोकेको पद्मकन्यामा ६ सय ७१ विद्यार्थी परीक्षा दिन पुगेका थिए। परीक्षा सुरु हुने समयको २० मिनेटसम्म प्रश्नपत्र नपाएपछि विद्यार्थी आक्रोशित भए।

उनीहरुले क्याम्पसका झ्यालका सिसा फुटाए। परीक्षा स्थगित भयो।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण परीक्षा दिन केन्द्र पुगेका विद्यार्थी त्यसै फर्कनुपरेको हो।

केन्द्राध्यक्ष रमेश श्रेष्ठका अनुसार त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले उक्त केन्द्रलाई २ सय ९७ जनाको मात्र सिटप्लान गर्न भनेको थियो। तर झन्डै ७ सय विद्यार्थी परीक्षा दिन आएपछि तनाब भएको उनले जानकारी दिए।

'पनिका, बल्खुको लापरबाहीले परीक्षा नै स्थगित गर्नुपर्योष,' श्रेष्ठ भन्छन्, 'हामीले त पनिकाकै तथ्यांकअनुसार सिट प्लानिङ, गार्ड तथा सुरक्षा गार्ड व्यवस्था गरेका थियौं।' दोब्बरभन्दा बढी विद्यार्थीलाई तत्काल कुनै व्यवस्थापन गर्न नसकिएको उनले जनाए।

'त्रिवि क्याम्पसअन्तर्गत अंग्रेजी केन्द्रीय विभाग र पनिकाबीच समन्वय कमीले यो घटना भयो,' श्रेष्ठले भने, '६ सय ७१ परीक्षार्थीको परीक्षाबारे हामीलाई पनिकाले कुनै जानकारी गराएको थिएन।' पनिकामा पटकपटक ताकेता गर्दा पनि परीक्षा सञ्चालन भएको २० मिनेटसम्म प्रश्नपत्र नआएपछि विद्यार्थी आक्रोशित भएर तोडफोडमा उत्रिएको उनले बताए।

परीक्षा दिन नपाएकोमा आक्रोशित विद्यार्थीले केही सिसा फुटाएको त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्नातकोत्तर दोस्रो वर्षका विद्यार्थी गौरव अधिकारीले बताए। 'परीक्षा सञ्चालन भएको २० मिनेटसम्म प्रश्नपत्र नपाएपछि विद्यार्थी आक्रोशित भएका हुन्,' उनले भने।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले विद्यार्थीको भविष्य अन्योलमा परेको उनले आरोप लगाए। यसै वर्षदेखि त्रिविले १ सय पूर्णांकको थेसिसलाई ५० नम्बरको थेसिस राइटिङ र ५० नम्बरको शोधपत्र निर्धारण गरेको थियो।

'हाम्रो ब्याचलाई विश्वविद्यालयले परीक्षण गर्न खोजेको हामीले पायौं,' अधिकारीले भने, 'आफ्ना कति विद्यार्थीले परीक्षा दिँदैछन्, पनिकालाई नै थाहा नहुनु दुर्भाग्य हो।'

रत्नराज्यलक्ष्मी क्याम्पसका परीक्षार्थी विवेक ढुंगानाको पनि परीक्षाकेन्द्र पद्मकन्या नै थियो। 'रातदिन मिहिनेत गरेर परीक्षाकै लागि अध्ययन गरेको थिएँ,' विवेकले सुनाए, 'तर लाखौं विद्यार्थीको भविष्य निर्माणको पहिलो ढोका त्रिविलाई मानिन्छ तर उसकै निकाय पनिका र हाम्रो केन्द्रीय विभागलाई नै आफ्नो कति विद्यार्थी परीक्षामा सामेल हुँदैछ भन्नेसम्म थाहा नहुनु ठूलो गैरजिम्मेवारपन हो।'

परीक्षा सहनियन्त्रक शंकर भण्डारीका अनुसार अंग्रेजी केन्द्रीय विभाग, विद्यार्थी र पनिकाबीच समन्वय हुन नसक्दा समस्या आएको हो। उनले यसै वर्षदेखि त्रिविले थेसिसका विद्यार्थीका लागि ५० नम्बर थेसिस राइटिङ र ५० नम्बर थेसिस बुझाउनेको परीक्षा सुरु गरेको हो। उनका अनुसार थेसिस राइटिङको परीक्षा फारम ९३ जनाले मात्र भरेकाले एक सय मात्र प्रश्नपत्र तयार गरिएको थियो। तर पछि पद्मकन्या केन्द्रले ७ सय विद्यार्थी संख्याबारे जानकारी गराउँदा आफूहरु अन्योलमा परेको उनको भनाइ छ।

'विद्यार्थीले फारम भर्दा ९३ ले मात्र थेसिस राइटिङ भनेर भरेका थिए,' सहनियन्त्रक भण्डारीले नागरिकसँग भने, 'केन्द्राध्यक्षले ७ सय छन् भनेपछि हामीले थप २ सय प्रश्नपत्र छापेर पठायौं।' एक घन्टाभित्र बाँकी प्रश्नपत्र पनि पठाउँछौं भन्दा विद्यार्थीले तोडफोड गर्न थालेको र सम्हाल्न गाह्रो भएपछि हामीले परीक्षा स्थगित गर्यौं ।'

आइतबार परीक्षाबोर्ड बैठकले स्थगति परीक्षा सञ्चालन गर्न अर्को मिति तय गर्ने उनले बताए।

Post a Comment

 
Top