sangita guptaकाठमाडौं, ३ असार । विवाह पश्चात स्कार्पियो गाडी दाइजो नदिएको भन्दै तराई मधेश लोकतान्त्रिका नेता तथा सभासद् वृजेश कुमार गुप्ताले आफ्नी श्रीमतीलाई झुक्याएर र पिटेर गर्भ तुहाएको रहस्य खुलेको छ ।

रिपोर्टर्स क्लव नेपालको अस्थायी कार्यालय काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी गुप्ता पत्नी संगीता गुप्ताले दाइजो स्वरुप स्कार्पियो गाडी नदिएको भन्दै वृजेशले आफ्नो दुई पटक गर्भ तुहाएको आरोप लगाइन । गर्भ रहँदा आफूलाई सन्तानको आवश्यकता नरहेको भन्दै तुहाउन दवाव दिएपनि आफूले अस्वीकार गरेको भन्दै उनले अन्ततः एक पटक झुक्याएर औषधि खुवाएर र अर्काे पटक पिटेर गर्भ तुहाइदिएको बताइन ।
७ वर्ष अघि विवाह भएको र हाल सम्म मानसिक, शारीरिक यातना सहित अहिले ज्यान लिने सम्मको धम्की वृजेशले दिने गरेको उनले बताईन । विवाहमा दाइजो नमागे पनि विवाह भएको तीन चार महिना पछि सीआरडीई मोडलको स्कार्पियो गाडी माइतीले नदिएको भन्दै आफूलाई कुटपीट गरी झुक्याएर र पिटेर दुई पटक गर्भ तुहाइदिएको संगीताले पत्रकार सम्मेलनमा भावुक हुँदै बताइन । गाडी नदिएको निहुँमा आफ्नो औंला टोकेर घाऊ बनाइदिएको भन्दै पत्रकार सम्मेलमा भक्कानिँदै उनले चोटग्रस्त औंला देखाएकी थिइन् । घरमा काम गर्न राखेको शितल भन्ने व्यक्तिबाट समेत आफूमाथि दुव्र्यवहार गर्न लगाएको भन्दै संगीतले आफू र बच्चालाई समेत मार्न खोजेको आरोप लगाइन । 
भारतको मुम्बइ माइती भएकी संगीताले भाइलाई समेत मार्ने बृजेशले धम्की दिएको बताईन । यसअघि नै यातनाका बारेमा सार्वजनिक गर्न खोज्दा वृजेशले नदिएको र राम्रो गर्ने भन्दै उनलाई केही महिना राम्रो गरेको संगीताले बताइन । तर, त्यो चुनावलाई लक्षित गरिएको रहेछ र चुनाव सकिएसँगै आफूलाई शारीरिक र मानसिक यातना दिन थालेको उनको भनाइ छ ।
सम्बन्ध विच्छेद गर्न आफूलाई दवाव दिएपनि आफ्नो नेपालमै जन्मिएका सन्तानलाई यहीँको संस्कार र रीतिरिवाज अनुसार हुर्काउने र पालनपोषण गर्ने भन्दै संगीताले वृजेशको सम्बन्ध विच्छेदको प्रस्ताव अस्वीकार गरेको बताइन । उनले आफूलाई बस्ने ठाउँ र बच्चा हुर्काउने र शिक्षा दिक्षा दिने व्यवस्था गरिदिन सरकारसँग माग समेत गरिन ।
हाल घरबाट निकालिदिएकोले संगीता काठमाडौंको होटेलमा माइतीको साहारामा बसेर कानुनी उपचारको खोजीमा रहेकी राष्ट्रिय महिला आयोगकी सदस्य मनु हुमागाइँले पत्रकार सम्मेलनमा जानकारी दिइन् । संगीताको उजुरीको आधारमा वृजेशलाई पटक पटक आयोगमा बोलाउँदा नआएको भन्दै हुमगाइँले साथमा लिएर आएकी संगीताको बच्चा होटेलको बसाइले सुक्दै गएको बताइन् । होटेलको बसाइका कारण पैसाको अभाव झेलिरहेकी संगीताले आफूहरुलाई चाँडै न्याय दिलाइदिन आग्रह गरेकी गुमगाइँको भनाइ छ ।
प्रहरीले समेत गुप्तालाई पक्राउ गर्न नसकेको भन्दै हुमगाइँले कानुन कार्यान्वयन र पालना गर्न सबैलाई आग्रह गरिन । कानुन निर्माता व्यक्ति सभासद्हरु नै दाइजो माग्दै घरेलु हिंसामा उत्रिनु दुःखत भएको उनले बताइन । पूर्वकानुन मन्त्री समेत रहेका वृजेश कुमार गुप्ता कपिलबस्तु क्षेत्र नम्बर ३ का प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।
Source : मिडिया एनपी.com

Post a Comment

 
Top