काठमाडौं, असोज ४ – नयाँ संविधान घोषणा भएको खुशीयालीमा सोमबार देशका धेरै ठाउँमा कार्यक्रम हुँदैछन् । राजनीतिक दल र विभिन्न संघसंस्थाको आयोजनामा विजय उत्सव मनाईंदैछ ।

मुख्य तीन दलले  काठमाडौंको शहिदमञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछन् । दिउँसो एक बजे हुने सभालाई तीन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सैनिक मञ्चमा आयोजना हुने भव्य समारोहमा उपस्थित हुन सरकारले सबैसँग अनुरोध गरेको छ ।
सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्रालयले विज्ञप्ती निकालेर समारोहमा सभासद्, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संगठनहरू, पत्रकारसहित समस्त सञ्चारकर्मी, निजामती कर्मचारी, सुरक्षा निकाय, सार्वजनिक संस्थान, समिति, प्रतिष्ठानका कर्मचारी, प्राध्यापक, शिक्षक, डाक्टर तथा स्वास्थ्यकर्मी, उद्योगी, व्यापारी, निजी क्षेत्र, विभिन्न पेसा व्यवसायमा आबद्ध पेसाकर्मी एवम् सम्पूर्ण देशवासीलाई आ–आफ्ना भेषभूषा र पोसाकमा समारोहमा सहभागी हुन आह्वान गरेको छ ।
मुख्य तीन दलले पनि कार्यक्रममा उपस्थित हुन सबैसँग अनुरोध गरेका छन् । यस्तै संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा एमालेले भोलि चियापान कार्यक्रम गर्दैछ । 
दशरथ रङ्गशाला त्रिपुरेश्वरमा आयोजना हुने चियापान कार्यक्रममा प्रधानमन्त्री, सभाध्यक्ष, मन्त्री, विभिन्न पार्टीका नेता, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ ।

Post a Comment

 
Top