असोज ३ – ‘के छ बाबु तिमीहरुको खवर ?’ विदेशमा काम गर्न गएकी आमाले फोनमा सोधेपछि रामेछापको प्रितीका विनोद सुनुवार र विनिता सुनुवारले भने ‘सञ्चै छ आमा ।’ तर ती दुई बालिकाले बोलेको ‘सञ्चै छ आमा’ भन्ने शब्द आमाको कानमा परेन । छोरा छोरीको उत्तर सुन्नु अघि नै आमाको प्राण पखेरु उडिसकेको थियो । 

रामेछापको प्रिती–७ च्यादलुकी निरु सुनुवारले भदौ ९ गते  छोरा छोरीसँग बोल्दै गर्दा प्राण त्याग्नुभयो । कुवेत र युएईमा दुई–दुई वर्ष काम गरेर फर्केकी निरु छोरा छोरीलाई राम्रो स्कूलमा पढाउने, राम्रो गरी खान र लाउन दिने सपना देख्दै किर्गिस्तान पुग्नु भएको थियो । किर्गिस्तानमा घरेलु कामदारका रुपमा साढे २ वर्ष काम गरिसकेकी उहाँ भान्छामा खाना बनाउँदै गर्दा ग्यास लिग भएर जल्नु भएको थियो । 
शरीर जलेकी उहाँलाई उपचारका लागि अस्पताल लगियो । आइसियुमा उपचार गराईरहेकी उहाँले चौथो दिन छोरा छोरीसँग कुराकानी गर्न खोज्नुभयो । किर्गिस्तानमै रहेकी निरुकी बहिनीले रामेछापमा फोन लगाइन् । त्यसपछि उहाँले छोराछोरीको सञ्चो विसञ्चो सोध्न भ्याउनुभयो ।  तर त्यो कुराकानी पुरा नहुँदै उहाँले प्राण त्याग्नुभयो । 
सुरुमा कुवेत गएकी निरु दोश्रो पटक युएई जानु भएको थियो । उहाँले युएईमा पसिना बगाइरहेका बेला रामेछापमा रहेका श्रीमानले भने घरमा कान्छी भित्र्याएका थिए । श्रीमानले दोस्रो विवाह गरेको थाहा पाएपछि अब कसका लागि कमाउनु भन्दै उहाँ युएईको बसाई टुङग्याएर घर फर्किनुभयो । तर घर फर्किएपछि गरिखाने मेलो समाउन सक्नुभएन । 
निरुको बाध्यतालाई दलालले मौकामा चौका हाने, अनि पठाए सरकारले स्वीकृती नै नदिएको किर्गिस्तानमा । काम कुवेत र युएईको भन्दा फरक थिएन । उहाँले किर्गिस्तानमा पनि घरेलु कामदारकै काम गर्नुभयो । पैसा पनि राम्रो अनि घरका साहु साहुनी पनि मज्जाका ।
घरका सबै काम त गर्नुपथ्र्यो नै साहुका दुई जना छोराछोरीको स्याहार पनि गर्नुपथ्र्यो तर उहाँको कामसँग बेखुशी भएनन् कहिले पनि । उहाँले त्यति बेला महिनाको चार सय डलर तलव पाउनुहुन्थ्यो । दुई वर्ष बसेर खुशीसँगै पैसा पनि राम्रै लिएर फर्किन लाग्नुभएको थियो । तर उहाँको काममा चित्त बुझाएका साहु साहुनीले १ सय डलर थपिदिए तलवमा ।
चार सय डलर पाउँदै गरेकी निरुले पाँच सय डलर अर्थात ५० हजार रुपैयाँ पाउनुहुने भयो । त्यसैले थप एक वर्ष काम गर्ने निधो गर्नुभयो उहाँले । तर बढेको तलव उहाँले ६ महिना पनि थाप्न पाउनुभएन । 
‘अण्डा उसिन्दै गर्दा ग्यास लिक भएको पत्तै पाइनछिन् ।’ श्रीमतीको मृत्युको कारण बारे चन्द्रबहादुर सुनुवारले भन्नुभयो । कमाउने सपना लिएर किर्गिस्तान पुगेकी निरुको शव गएको भदौ २० गते नेपाल ल्याइयो । निरुले काम गर्ने किर्गिस्तानको घरकी साहुनीले शव नेपाल पठाउन सहयोग गरेपनि आर्थिक सहयोग गर्न नसक्ने बताएकी छिन् । 
आमाको निधन अनि बाबुले पनि पहिल्यै दोस्रो विवाह गरेका कारण अहिले दुई बालबालिकाको बिचल्ली भएको छ । प्रिती गाविसकै चण्डेश्वरी माविमा कक्षा ७ र ८ मा पढ्दै गरेका उनीहरुको पढाइ अव कसरी अघि बढ्छ टुंगो छैन । उनीहरुका बाबु कान्छी आमासँगै दोलखाको शहरे गाविसमा बस्दै आएका छन् । 
त्यसैले बुढा हजुरबुवा र हजुरआमासँग बसेका उनीहरुको पढाइ प्रभावित भयो भन्नुहुन्छ विद्यालयका शिक्षक  रामप्रसाद आचार्य ।  अव यी दुई सन्तानको हेरबिचार कसले गरिदेला ? छोराछोरीलाई राम्ररी पढाएर  ठूलो मान्छे बनाउने निरुको सपना कसले साकार पारिदेला ?

Post a Comment

 
Top