काठमाडौं, २३ साउन । नेपालमा वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’पछि अब पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् । नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन् । नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन् । तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न नसकिने बताए । बीबीसीसँग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने, ‘यस क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै होईन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ ।’ गत वैशाखको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट भनिने दुइ भौगर्भिक क्षेत्रहरुबीच घर्षण हुँदा पैदा भएको हो । यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुइ सेन्टिमीटरले उत्तरतिर सरिरहेको हुन्छ । वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सञ्चित तनावमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो । प्राध्यापक अवुआकले भने, ‘यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो ।’ अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन् । हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ रेक्टरको महाभूकम्प आएको थियो । हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्षभन्दा बढी समयदेखि त्यहाँ जम्मा भईरहेको तनावमाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन् । ‘अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं,’ प्राध्यापक अवुआकले भने । उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपी अर्को प्राकृतिक विपद् ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ । ‘हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ,’ प्राध्यापक अवुआकले भने । उनले ठूला भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न सुझाव दिए । नेपालमा गत वैशाखमा गएको भूकम्पमा परी झण्डै नौ हजार जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए । प्राध्यापक अवुआकले भने, ‘काठमाण्डौ नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ, यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ।’ गत वैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरु बताउँछन् । सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरु जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले बताएका छन् । बीबीसीबाट

Post a Comment

 
Top