काठमाडौं, भदौ ७ – आइतबार संविधानसभामा पेश भएको मस्यौदा समितिको विधेयकमा केही व्यवस्था परिमार्जन गरिएको छ । यसअघि गाविस र नगरपालिकाका वडाध्यक्ष गाउँसभा र नगरसभाले गर्ने भन्ने व्यवस्था थियो । सुझाव संकलनको क्रममा धेरै नागरिकले वडाध्यक्ष प्रत्यक्ष चुनिनुपर्नेमा जोड दिए । नागरिकको सुझाव अनुसार मस्यौदा समितिले वडाध्यक्ष प्रत्यक्ष चुनिने व्यवस्था गरेको छ । 
मस्यौदा समितिका सदस्य अइन्द्र सुन्दर नेम्वाङका अनुसार अरु केही व्यवस्था पनि परिमार्जन भएको छ । यसअघि राष्ट्रियसभा सदस्यको लागि गाविस अध्यक्ष र नगरपालिका प्रमुखले मात्र मतदान गर्न पाउने भन्ने उल्लेख भएकोमा अब उपाध्यक्ष र उपप्रमुखले पनि मतदान गर्न पाउनेगरी परिमार्जन गरिएको छ ।
राष्ट्रिय सभा ४५ सदस्यीय भनिएकोमा आइतबार संविधानसभामा पेश भएको विधेयकमा ५१ सदस्यीय भन्ने उल्लेख छ । ‘दलित, महिला र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गराउन राष्ट्रिय सभा सदस्यसंख्या बढाइएको हो’ नेम्वाङले उज्यालो अनलाइनसँग भन्नुभयो । यस्तै प्रतिनिधिसभा सदस्यमा पनि समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने प्रयास भएको उहाँको भनाई छ ।

Post a Comment

 
Top