काठमाडौं, भदौ ११ – कैलालीको टिकापुरमा सोमबार बेलुकादेखि लागेको कर्फ्यु शुक्रबार पनि कायमै छ । लगातारको कर्फ्युले स्थानीयबासिन्दा घरभित्रै थुनिन बाध्य छन् । आसपासमा केही पसल खुलेपनि जनजीवन पुरै सहज हुन सकेको छैन । स्थानीय बासिन्दा अझै भयभित छन् ।
धनगढीमा भने सुरक्षा समितिको बैठकले शुक्रबार कर्फ्यु लगाउने नलगाउनेबारे निर्णय गर्नेछ । सोमबार दिउँसो हिंसात्मक घटना भएपछि कैलालीको १० वटा गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नवलपरासीको सदरमुकाम परासी र रामग्राम नगरपालिकामा निषेधाज्ञा कायमै छ । सोमबार बेलुकीदेखि ७ दिनको लागि निषेधाज्ञा लगाइएको हो । त्यहाँ बजार पसल खुलेका छन् । गाडी पनि चलिरहेका छन् ।
यस्तै बर्दियाको सदरमुकाम गुलरिया र राजापुरमा पनि निषेधाज्ञा कायमै छ । तर शनिबार परेको रक्षा बन्धनलाई मध्यनजर गर्दै बन्दकर्ताले शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बेलुकासम्म बजार पसल खुल्न दिने र गाडी संचालनमा कुनै रोक नलगाउने जनाएका छन् ।
नेपालगञ्ज र आसपासमा ठाउँमा पनि बजार पसल खुल्न थालेका छन् । तर तराईका अरु जिल्लामा लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । रौतहटमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको छ । पाएको सामान पनि चर्को मुल्यमा किन्नुपरेको उपभोक्ताको गुनासो छ ।

Post a Comment

 
Top