भदौ ९ - ‘लौन बाबु मेरो छोराको खोजी
गरीदिनुपर्यो’ यसो भनिरहँदा रामेछाप नगरपालिका ८ हिलेपानीका
धनमाया बस्नेतको गहभरी आँसु थियो । छोराको बारेमा सोध्न पुग्ने जो कोहीलाई
उहाँ यस्तै आग्रह गर्नुहुन्छ । २०६१ सालमा मलेशिया गएको छोरो गोपाल उतै
बेपत्ता भएपछि बस्नेत परिवारको दिनरात छोराकै बाटो हेरेर बित्छ । ८ कक्षा
पढ्दापढ्दै छोडेर काठमाडौं छिरेका गोपाललाई काठमाडौंमा बेकरी र रुवा
कारखानाको काममा मन लागेन ।
त्यसपछि
गोपाल विदेश जाने निर्णय गरेर घर फर्कनुभयो । छोराको आग्रह काट्न नसकेर
बाबु गणेशले विदेश पठाउनको लागि १ लाख ३० हजार रुपैंया ऋण खोज्नुभयो ।
घरबाट हिँडेका गोपालले एक वर्षसम्म घरमा सम्पर्क गर्नुभयो । त्यसबाट थाहा
थियो उहाँ पाइप कम्पनीमा काम गर्ने कुरा तर एक वर्षपछि गोपाल एकाएक
सम्पर्कबिहीन हुनुभयो । ‘त्यतिबेला फोन गर्दा म आमाको किरियामा बसेको थिएँ’
छोराको अन्तिम फोन सम्झिँदै गणेशबहादुरले भन्नुभयो, ‘किरियामा बसेको बेला
अर्काको घरमा जान नपाएपछि छोरोसँग कुरा गर्न नै पाइन ।’ त्यही नै छोरोले
गर्ने अन्तिम सम्पर्क होला भनेर सोच्नु पनि भएको थिएन बुवा गणेशबहादुरले ।
अरु
केही कमी छैन बस्नेत परिवारमा । दुई वटी छोरीको बिहे भयो । कान्छो छोरो
अफगानिस्तानबाट फर्केर गएको जेठमा अमेरिका गएका छन । तर एउटै कुराले मन
रुवाउँछ गोपालकी आमा धनमायाको । ‘अब त आँखाका आँसु पनि रित्तिसके जस्तै
लाग्छ’ कुरा गर्दागर्दै भक्कानिनुहुन्छ उहाँ । छोरो विदेशमा राम्रै छ भने
पनि काम गर्ने ठेगाना पनि सुरक्षित राखेनन् गोपालका परिवारले । छोरो विदेश
गएको नौ वर्षपछि ललितपुरमा काम गर्ने कारखाना नजिकैको होटल मालिकले उहाँको
नागरिकता घरमै पुर्याइदिए । त्यही नागरिकता र १५ वर्षअघि खिचेको फोटो लिएर
गणेश काठमाडौं पुग्नुभयो । तर छोरोलाई पठाउने म्यानपावर भेट्नुभएन । काठमाडौंतिरको
बाटो पनि टुङ्गिएपछि बुवा गणेशले गोपालको पुरानै नम्बरमा फोन गर्नुभयो ।
तर छोराको साटो अर्कै केटी बोली अनि भनी ‘यहाँ गोपाल भन्ने कोही मान्छे छैन
र म चिन्दिन पनि ।’ कुराकानीको शुरुमा भावुक भएका गणेशले मन थाम्न
सक्नुभएन । रुँदै बेपत्ता छोरालाई आग्रह गर्नुभयो ‘हामीलाई एक पटक तिम्रो
आवाज सुन्न मन छ, त्यसैले जसरी भएपनि ९८४३५९६२९४, ९८६०६२५४२९ र ९८५११७२५०६
फोन गर ल ।’
Post a Comment