काठमाडौं, भदौ ६ – भूकम्प पीडितलाई थप रकम वितरणको तयारी भैरहेको सरकारले जनाएको छ । यसबारे कार्यविधि तयार गर्ने काम भैरहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ गोविन्द पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसको काम अन्तिम चरणमा पुगेको छ ।

कार्यविधि बन्ने वित्तिकै रकम वितरण गर्ने उहाँले बताउनुभयो । पोख्रेलका अनुसार सरकारले विभिन्न चरणमा रकम बाँड्ने तयारी गरेको छ । पीडितले घर बनाएको आधारमा रकम वितरण गरिने उहाँले बताउनुभयो ।
यसअघि सरकारले अस्थायी टहरा बनाउनको लागि १५ हजार रुपैयाँ वितरण गरेको थियो । भूकम्प पीडितलाई परिचयपत्रको आधारमा दुईलाख रुपैयाँ दिने सरकारले यसअघि नै घोषणा गरेपनि कतिपय पीडितले १५ हजार समेत नपाएको गुनासो गरेका छन् । कतिपय ठाउँमा रकम वितरणमा अनियमितता भएको समेत पाइएको छ ।
अर्थ मन्त्रालयले भूकम्प पीडितलाई दिन ९१ अर्ब रुपैयाँ छुट्याएको जनाएपनि समन्वयको अभावमा रकम मन्त्रालय मै थन्किएको छ । शहरी विकास मन्त्रालयको योजनामा अर्थ मन्त्रालयले रकम निकासा गर्नुपर्ने भएपनि समन्वय अभावमा पीडितले रकम नपाएका हुन् ।

Post a Comment

 
Top