काठमाडौं, भदौ ६ संविधानसभामा बिहीबार पनि संविधानको परिमार्जित विधेयकमाथिको छलफल भैरहेको छ । छलफलमा भाग लिंदै सभासदहरुले असन्तुष्ट पक्षको मागलाई पनि सम्बोधन गरेर संविधान जारी गर्नु पर्नेमा जोड दिएका छन् । पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गर्नुभयो ।
 उहाँले हिंसा अन्त्य गरी छलफलमा आउन आग्रह गर्दै जायज माग पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान निर्माण प्रक्रिया कुनै पनि हालतमा रोक्न नहुने भन्दै नेता नेपालले शान्तिपूर्ण रुपमा आफ्ना माग सबैलाई राख्न आग्रह गर्नुभयो । प्रादेशिक पहिचानको नागरिकता प्रदान गरिने कुरा संविधानमा उल्लेख गर्नुपर्ने बताउनुभयो । 
पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले ६ महिनाभित्र स्थानीय निकायको  निर्वाचन गर्ने गरी सकेसम्म छिटो संविधान जारी गर्नुपर्ने बताउनुभयो । संविधान निर्माणको बेलामा फरक धारणा आउनु स्वभाविक भएको भन्दै ती विचारलाई पनि सकेसम्म समेट्ने उहाँले बताउनुभयो ।
दलहरुबीच भएको १२ बुँदे समझदारीबाट पछि हट्न नसक्ने स्पष्ट भन्दै उहाँले संघीयताबाट पछाडि फर्कन नसकिने, तर पहिचान र सामथ्र्यका आधारमा फेरि छलफल गर्न सकिने बताउनुभयो । धर्म निरपेक्षता देशको विशेषता भएकाले अब धर्मको बारेमा धेरै कुरा गर्न आवश्यक नभएको नेता भट्टराइले बताउनुभयो । 
यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सीमाङ्नको मामलामा अव्यवाहारिक कुरा घुसाउन खोजिएकाले समस्या भएको बताउनुभयो । प्रमुख चार दलका शीर्ष नेताको चाहना अनुसार प्रदेश सीमांकनको निर्णय भएकाले समस्या भैरहेको भन्दै उहाँले नागरिकको विचार बुझेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मस्यौदाले लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको नेता पौडेलको भनाई छ । मस्यौदालाई चुस्त बनाउन अझै आवश्यक परेको र महिला, मधेसी, थारु, जनजातिलाई पनि मूल धारमा स्थापित गर्ने विषयमा छलफल भैरहेको उहाँले जानकारी दिनुभयो ।सकेसम्म कम प्रदेश बनाएर यथासक्य छिटो संविधान जारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Post a Comment

 
Top