काठमाडौं, भदौ ९ – संविधानसभामा नेपालको संविधानको परिमार्जित बिधेयक २०७२ माथि छलफल शुरु भएको छ । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको परिमार्जित विधेयक छलफलका लागि संविधानसभामा पेश गरेपछि विधेयक माथिको छलफल शुरु भएको हो ।
छलफलको प्रस्ताव पेश गर्दै सिटौलाले असन्तुष्ट पक्षलाई संविधानसभामै आफ्ना भनाइ राखेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो । आफ्ना विचार संविधानसभामै राखेर जान सकिने भन्दै बाहिर गएर समस्याको समाधान नहुने उहाँले बताउनुभयो । सार्वभौम, राजकीयसत्ता जनतामा निहित भएको अवस्थामा ठाउँ ठाउँमा सुरु भएको हिंसाले नागरिकलाई नै कमजोर पार्ने उहाँको भनाई छ । नेता सिटौलाले हिंसात्मक घटना रोक्न सभासदहरुलाई जिम्मेवार बन्न पनि आग्रह गर्दै गर्नुभयो । छलफलमा भाग लिंदै प्रधानमन्त्री सुशील कोइरालाले संविधान सम्झौताको दस्तावेज भएकाले सबैका कुरा जस्ताको त्यस्तै समेटिन नसकिएपनि बेला बेलामा परिमार्जन गरेर जान सकिने बताउनुभयो । उहाँले मर्यादित भएर आफ्ना भनाइ, असन्तुष्टि संविधानसभामै राख्न पनि सभासदलाई आग्रह गर्नुभयो । जसरी पनि संविधान जारी गर्नुपर्ने भएकाले सबै मिलेर संविधान जारी गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।
कैलाली टिकापुरमा सोमबार भएको घटनाप्रति इन्कित गर्दै प्रधानमन्त्री कोइरालाले देशमा जति हिंसा भड्किन्छ, त्यसले देशलाई नै घाटा हुने भएकाले त्यस्ता गतिविधि नगर्न पनि सबैलाई अपील गर्नुभयो । वार्ता र छलफलमार्फत नै असन्तुष्टिलाई सम्बोधन गर्न सकिने भएकाले आफु आन्दोलनरत पक्षसँग छलफल गर्न तयार रहेको उहाँले बताउनुभयो ।  
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिने चलखेल भइरहेको भन्दै सजक हुन आग्रह गर्नुभयो । संविधान निर्माणको अन्तिम चरणमा पुगेका बेला फरक मत भिन्नता देखिनु स्वभाविक भएको तर संविधान बिथोल्न खोज्नेहरुले टिकापुर घटना घटाएको आरोप लगाउनुभयो । टिकापुर घटना अमानवीय भएको भन्दै यस्ता गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्ने उहाँको भनाई छ । छलफल र संशोधनबाट पनि नागरिकका विचार संविधानमा समेट्न सकिने भन्दै अध्यक्ष ओलीले सबै नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो । नेपालका परिवर्तनलाई संविधानको मस्यौदाले आत्मसात गरेकाले पनि उत्पीडन, असमानता, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाभिमानको पक्षमा मस्यौदा उभिएको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top