काठमाडौं, भदौ १२ – मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले अफगानिस्तान सामु १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर मात्रै १ सय २३ रन बनायो ।
सुरुमा खराब प्रदर्शन गरेको नेपालले बीचमा केही बेर राम्रो प्रदर्शन गरेको थियो । तर नेपाली ब्याट्सम्यान धेरैबेर टिक्न सकेनन् । नेपालले सुरुको चार रन जोड्दा तीन विकेट गुमाएको थियो । नेपालका सन्दिप सुनार र राजविर सिंह रनको खातानै नखोली तथा आरिफ शेख दुई रन बनाउँदा पेविलियन फर्किएपछि नेपाली टोलीलाई धक्का लागेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान राजु रिजाल  एक रन बनाएर आउट भए ।
धराम परेको नेपाली ब्याटिङलाई सुनिल धमला र योगेन्द्र सिंह कार्की केही बेर सम्हाले । धमलाले ४६ तथा कार्कीले २० रन बनाए । यस्तै प्रेम तामाङले पनि २० तथा दिपेन्द्र सिंह ऐरीले १० रनको योगदान दिए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुशील कँडेल ४ तथा सौरभ खनाल दुई रन बनाएर आउट भए । दिपेश श्रेष्ठले रनको खाता नै खोल्न सकेनन् ।
अफगानिस्तानका जिया उर रहमान र परवेज मालकजाइले तीन तीन तथा नविन उल हकले दुई विकेट लिएका छन् । अफगानिस्तानले लक्ष्य पछ्याउँदै ब्याटिङ गर्दैछ । साविक विजेता अफगानिस्तान नेपालका लागि तुलनात्मक रुपमा बलियो प्रतिद्धन्द्धी हो । नेपालले हिजो भएको पहिलो खेलमा युएईलाई १ सय ४९ रनले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

Post a Comment

 
Top