काठमाडौं, भदौ ४ - लगातार बन्दका कारण सडकमा गाडी कम चलेका छन् । सीमाकंनको विरोधमा ११ दिनदेखि सुदूरपश्चिम, मध्यपश्चिम र कर्णालीका विभिन्न ठाउँमा बन्द हुँदा पूर्व पश्चिम राजमार्गमा कम गाडी चलेका ट्राफिक प्रहरीले जनाएका छन् ।
पूर्व पश्चिम राजमार्गमा गाडी कम चल्दा त्यसको प्रभाव देशभरी नै परेको छ । अरनिको र पृथ्वी राजमार्गमा पनि कम गाडी चलेका छन् । तराईका २२ जिल्लामा बन्द भएपछि प्रहरीले स्कटिङ गरेर गाडीलाई एक ठाउँबाट अर्को ठाउँमा आवातजावत गराइरहेको जनाएको छ । बाहिरको जिल्लामा बन्द भएपछि काठमाडौं भित्रने र बाहिरिने गाडीको संख्या पनि घटेको छ ।
पहिलेको तुलनामा अहिले ४० प्रतिशत गाडी मात्रै भित्रने र बाहिर जाने गरेको नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक विकल भट्टराइले बताउनुभयो । उहाँका अनुसार तराईका जिल्लामा बन्द भएपछि भित्रने र बाहिरिने गाडीको संख्या दिनदिनै घट्दै गएको छ । आएका गाडी पनि पहिलेभन्दा धेरै ढिला आउने गरेका उहाँले बताउनुभयो ।
वितेको २४ घण्टामा काठमाडौंमा ३ हजार ४ सय ९७ गाडी भित्रिएका छन् भने ३ हजार ५ सय १६ बाहिरिएका छन् । यात्रुबाहक भन्दा पनि मालबाहक गाडी धेरै भित्रिएको छ । 

Post a Comment

 
Top