म्याग्दी, भदौ ४ – पछिल्लो समय सूचना र प्रविधिको विकास तीब्र गतिमा भैरहेपनि म्याग्दीमा भने यसमा आधारित सेवा गुणस्तरीय बन्न सकेको छैन । जिल्लाका विभिन्न दुर्गम गाउँहरुमा जिल्ला हुलाक कार्यालय म्याग्दीमार्फत सञ्चालित टेलिसेन्टर सेवा प्रभावकारी बन्न नसकेको हो । 
ग्रामीण भेगका बासिन्दालाई घरदैलोमै सुविधासम्पन्न सेवा दिने भनिए पनि त्यो प्रभावकारी हुन नसक्दा प्रयोग गर्नबाट आफूहरु बञ्चित भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । हुलाक कार्यालयले दुर्गम भेगका बासिन्दालाई लक्षित गरी टेलिसेन्टर सेवामार्फत इन्टरनेट, टेलिफोन, फ्याक्स, फोटोकपी, लेमिनेशन, कम्प्युटर तालिमलगायतका सेवाहरु सञ्चालन गरेको थियो । तर नेपाल टेलिकमको गाउँगाउँमा क्षमता विस्तार नहुँदा सिडिएमएबाट टेलिसेन्टर चलाउँदा त्यो सेवा प्रभावकारी नभएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।  गाउँमा टेलिसेन्टर सेवा स्थापना गरेपनि सुविधाको प्रयोग गर्नबाट स्थानीय उपभोक्ताहरु बञ्चित भएका छन् । जिल्लाको ताकम, दरबाङ, बाबियाचौर, शिख, दाना, भगवती र गलेश्वर क्षेत्रमा इलाका हुलाक कार्यालयबाट टेलिसेन्टर सेवा सञ्चालन गरिएको छ । 
गाउँस्तरमा विद्युतीय लाइन विस्तार भए पनि नेपाल टेलिकमको टावर विस्तार नहुँदा टेलिसेन्टरको ईमेल इन्टरनेट सेवा सञ्चालन गर्न समस्या भएको जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार टेलिकमको सेवा नपुगेको र सिडिएमए सेवामार्फत टेलिसेन्टर चलाउन खोजिएपनि त्यसको पनि नेटवर्क राम्रो नहुँदा कठिनाई भएको छ । जिल्ला हुलाक कार्यालयमार्फत टेलिसेन्टर सेवालाई प्रभावकारी बनाउन खोजेपनि विद्युत, सञ्चारलगायतका समस्याका कारण सेवा पु¥याउन कठिन परेको अधिकृत श्रेष्ठको भनाई छ । गाउँमा सञ्चालित टेलिसेन्टरको प्रयोग गरी कम्प्युटरको बेसिक कोर्षको तालिम समेत दिने गरिएको छ । 
हाल म्याग्दीमा जिल्ला १, इलाका १०, अतिरिक्त हुलाक कार्यालय २९ गरी ४० ओटा हुलाकहरु सञ्चालनमा रहेका छन् । कार्यालयका अनुसार जिल्लामा २९, इलाकामा १७, अतिरिक्त हुलाकमा १४०, कम्प्युटर सहायक अपरेटर ७, हुलाकी करार ७, फाजिल १ र कार्यालय सहयोगी २ गरी कुल २०६ जना कर्मचारी दरबन्दीमा कार्यरत छन् । तर पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयको कार्यसम्पादनमा समस्या भएको उहाँले बताउनुभयो । नयाँ कर्मचारी नियुक्ति गर्न हुलाक सेवा विभागले अनुमति नदिँदा २, ३ ठाउँको हुलाक एउटै व्यक्तिले बोक्नुपर्ने बाध्यताका कारणले समयमा सामान पुग्न सकेको छैन ।  पहिलेपहिले सूचना आदानप्रदानको मुख्य स्रोत हुलाक कार्यालय भए पनि बढ्दो सञ्चार विस्तारले चिठीपत्र आदानप्रदानमा कमी आएको छ । हुलाक कार्यालयमा व्यक्तिगत, घरायसी, विदेश र सरकारी कार्यालयका चिठी आउने गरेपनि पछिल्लो समय त्यसमा न्युनीकरण भएको कार्यालयले बताएको छ । त्यसका साथै पत्रपत्रिका, पार्सल र अन्य मालसामान पनि कार्यालयले डाँक सेवामार्फत ओसारपोसार गर्दै आइरहेको छ । 
सादा चिठीबाहेक रजिष्टर गरी पठाएको चिठी तथा अन्य सरसामान हुलाकबाट पठाउँदा आधिकारीक हुने र सम्बन्धित ठाउँमा नपुगे वा हराएको खण्डमा क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । बाहिरबाट हेर्दा हुलाकभित्र केही काम नदेखिए तापनि कर्मचारीले थैलो बोकेर सामान आदानप्रदान गर्दै आइरहेको अधिकृत श्रेष्ठले दावी गर्नुभयो ।  

Post a Comment

 
Top