काठमाडौं, भदौ ४ – मुख्य दलका शीर्ष नेताबीच सीमांकनको विवाद मिलाएर सात प्रदेशमा जाने कसरत भएपनि सहमति जुट्न सकेको छैन । मुख्य दलका शीर्ष नेताबीच बिहानदेखि बसेको बैठकमा कुरा नमिलेपछि नेताहरु लाखापाखा लागेका छन् ।
तीन दलका नेताहरु हिँड्नुअघि नै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार कुरा मिल्न नसकेको भन्दै बाहिरिनुभएको थियो । गच्छदार हिँडेपछि तीन दलका नेताहरुको बैठक बसेपनि कुरा नमिलेपनि उनीहरु पनि लाखापाखा लागेका छन् ।
प्रमुख दलका शीर्ष नेताबीच धर्म, मतप्रतिशत सीमा र प्रस्तावित ६ प्रदेशको सीमांकन निर्धारणपछि मुलुकका विभिन्न ठाउँमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा  केही दिनदेखि छलफल भैरहेपनि सहमति हुन सकेको छैन । 
मस्यौदा समितिले असहमति सहितको प्रतिवेदन शुक्रबार संविधानसभालाई बुझाउने तयारी गरेको छ । समितिले विवाद बाँकी रहेका विषयमा प्रमुख दलका शीर्ष नेताले सहमति गरेमा त्यस विषयलाई समेत समावेश गर्न सकिने उल्लेख गर्दै अरु विषयमा भने एकीकृत प्रतिवेदन तयार पारेको छ ।
गएको असार २३ गते प्रमुख दलका शीर्ष नेताले ६ प्रदेशको सीमाङ्कनसहितको संघीय प्रदेशको खाका सार्वजनिक गरेपछि मध्यपश्चिम, सुदूरपश्चिम, कर्णाली र तराई–मधेसका विभिन्न जिल्लामा भैरहेको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेता सहमत भए पनि कसरी निष्कर्ष निकाल्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन ।

Post a Comment

 
Top