कास्की, भदौ १० – नेपालमा प्याराग्लाइडिङ्ग भित्रिएको १९ वर्षपछि नेपाली पाइलटले नेपाल सरकारबाट लाइसेन्स (उडाउने अनुमतिपत्र) पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले पहिलोपटक ४ जनालाई लाइसेन्स दिएको हो । 
नेपालकै पहिलो प्याराग्लाइडिङ्ग पाइलट राजेश बमजनसँगै दामोदर पराजुली, सानोबाबु सुनुवार र विमल अधिकारीले अस्थाई प्याराग्लाइडिङ्ग इजाजत पत्र पाएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख दिपक बरालले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य परीक्षण गरि प्याराग्लाइडिङ्ग उडाएको अवलोकन पछि मात्रै लाइसेन्स दिइएको हो ।
अहिले अस्थाइ लाइसेन्सबाट शुरु गरिएको र नियम बनीसकेपछि स्थाइ लाइसेन्स दिने बरालले बताउनुभयो । प्याराग्लाडिङ्ग पाइलटले लाइसेन्स पाएपछि उनीहरुको बिमा गर्न सजिलो हुने बताउँदै बरालले प्याराग्लाडिङ्ग पाइटल तथा यससम्बन्धी संस्थाहरुको लामो समयदेखिको माग पूरा भएकोमा खुशी व्यक्त गरेको पनि जानकारी दिनुभएको छ । 
नेपालका पहिलो प्याराग्लाइडिङ्ग पाइलट राजेश बमजन अब लाइसेन्स लिने प्याराग्लाडिङ्ग पाइलट पनि पहिलो बन्नुभएको छ । यस्तै अरु तीनजना प्याराग्लाइडिङ्ग पाइलटको परीक्षा लिनका लागि छनौट भएका छन् । उनीहरुले अब नयाँ पाइलटको परिक्षा लिँदा प्राविधिकको रुपमा काम गर्नेछन् । 
पोखरामा अहिले झण्डै १ सय २० जना टेन्डम पाइलट रहेका छन् भने लाइसेन्सका लागि झण्डै ८० जनाले नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन् । अहिले प्याराग्लाडिङ्गको लाइसेन्स लिनका लागि २५ डलर तिनुपर्छ । 
यसअघि नेपाली पाइलटले विदेशी लाइसेन्स या विना लाइसेन्स नै प्याराग्लाडिङ्ग गर्दै आएका थिए । नेपालमा नै पहिलो पटक पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ्गको उडान शुरु भएको हो भने सन् २००० देखि व्यवसायीक रुपमा उडान थालिएको थियो ।

Post a Comment

 
Top