काठमाडौं, भदौ ४ – गृहमन्त्री बामदेव गौतमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा भैरहेको आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई ५० लाख रुपैंयया दिन्छौं भन्ने अभिव्यक्ति लोकतन्त्रको मूल्य र मान्यता विपरीत भएको बताउनुभएको छ ।
शुक्रबार व्यवस्थापिका संसदको बैठकमा उहाँले स्थापित नेताले नागरिकप्रति गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको र यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । सीमांकनको विषयमा भैरहेको आन्दोलन जातीय र हिंसात्मक भएको भन्दै उहाँले मर्यादित ढंगबाट आफ्ना मागका बारेमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
आन्दोलनमा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकार गठन भएपछि ५० लाख रुपैंया दिने भनेर मोर्चाले गरेको घोषणाप्रति सभासदहरुले आपत्ति जनाएपछि बिहीबार सभामुख सुवाचन्द्र नेम्वाङले त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको थियो  ।  
यस्तै डन नाइके भनेर चिनिने कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरीको जवाफी कारबाहीमा मारिएको गृहमन्त्रीले बताउनुभयो । संसद बैठकमा सभासद भीमसेनदास प्रधान, कौशर शाह र डिल्ली काफ्लेले घैंटेको गैरन्यायिक हत्या भएको भन्दै आपत्ति जनाएपछि गृहमन्त्री गौतमले जवाफ दिनुभएको हो । उहाँले शंका लागेर जाँच गर्ने क्रममा घैंटेले प्रहरीलाई गोली चलाएको र प्रहरीले बाध्य भएर जवाफी कारबाही गरेको बताउनुभयो ।

Post a Comment

 
Top