भक्तपुर, भदौ ९ - वैशाख ७ गते आमा मञ्जुलाई फोन गरेर म छिट्टै घर आउँछु भनेको छोरा सविन खड्का हिम पहिरोमा परेर नफर्किएपछि अनन्तलिङ्गेश्वर नगरपालिका–१०, दधिकोट खड्का गाउ“का देवराज खडकाको परिवार चिन्तामा डुबेको छ । लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जमा खटिएका नेपाली सेनाको उपसेनानी २८ वर्षिय सविन खड्का घर फर्कन्छ कि भन्ने आशामा देवराज खड्काको परिवार पर्खेर बसेको पनि चार महिना बित्यो ।
वैशाख १२ गतेको भुकम्पसँगै आएको हिम पहिरोमा परेर बेपत्ता भएका अनन्तलिङ्गेश्वर नगरपालिका–१०, दधिकोट खड्का गाउ“का सविनसँगै १० नेपाली सेना टोली बेपत्ता भएका थिए । 
१८ जवानको कमाण्डरका रुपमा रुपमा खटिएकाहरुमध्ये ६ जना छुट्टिमा र २ जना फोन गर्न बाहिर बजार गएका बेलामा भूकम्पसँगै आएको हिम पहिरोमा परेर सविनसँगै ओमहरी खड्का, जयकुमार माझी, फुर्वा तामाङ्ग, कुमार गुरुङ्ग, विरेन्द्र मण्डल, महेन्द्र आले, सोमराज कुमाल, रामचन्द्र मण्डल, मदन जलारी र केशव बिष्ट बेपत्ता भएका थिए । बेपत्तामध्ये केशवको शव पत्ता लागे पनि अरुको भने अझै कुनै अत्तोपत्तो छैन । 
परिवारको एक्लो छोरा बेपत्ता भएदेखि नै आमा मञ्जुले अनन्तलिङ्गेश्वर मन्दिर र दिदीको घरमा अखण्ड दीप बालिरहनु भएको छ । भूकम्पले घर पुरै भत्काएको पीडा भन्दा पनि छोरा बेपत्ता भएको पीडाले धेरै पिरोलिएको आमाबाबुले घर बिर्सिएरै भएपनि छोरा फर्कने आशामा अखण्ड दीप बालेर बसेका छन् । 
‘मलाई विश्वास छ, मेरो छोरालाई केही भएको छैन, अखण्डदीप एकनासले बलिरहेको छ, सपना पनि राम्रो छ, मेरो छोरा सकुशल छ,’ सविनको आमा मञ्जु भन्नुहुन्छ, ‘छोरा तिमी छिटो घर आउ, तिम्रो पर्खाइमा हामी छौं ।’
‘भूकम्प गएको चार महिना बित्न लाग्यो, सरकारले आफ्नै कर्मचारीको खोजीमा लागेन’ सविनका बुबा देवराज भन्नुहुन्छ ‘भूकम्पपछि छोराको केही खोज खबर आएन, सरकारले पनि पछि खोजी गर्न चासो दिएन, हामीले खोज्दा पनि पाएनौ, कहिल्य फर्कन्छ खै हाम्रो छोरा ।’ नेपाली सेनाको हेडक्वाटरमा धर्ना दिएर दबाब दिँदा पनि वास्ता नगरेको परिवारको गुनासो छ । 
अखण्ड दीप बालेर बसेकी आमा मञ्जु भन्नुहुन्छ, ‘बैशाख ७ गते छोराले फोन गरेको थियो, यहाँ मोबाइलको टावर छैन, बेला–बेलामा म आफैं फोन गर्छु, फोन गर्न बाहिर जानुपर्छ, नआत्तिनुस् आमा विदा मिलाएर म चाडै आउँछु भनेको थियो, फेरि कुनै खबर आएको छैन ।’ 
सरकारले खोजीदेला भनेर मात्रै बसेनन्, छोरा बेपत्ता भएको खबर पाएसंगै खोजी गर्न परिवार दिनरात खटिएको छ, खोजी गर्दै परिवार लाङ्गटाङ्गसम्मै पुगेपनि पत्तो लागेन ।
सविनका बुवा देवराज भन्नुहुन्छ ‘खोजी गर्न हामी लाङ्गटाङ्गसम्मै पुग्यौं’, पहाड खसेर ध्वस्त भएको रहेछ, मरेका पशुको हड्डी देख्यौं, छोराको क्याम्प सहित वस्ती नै ध्वस्त भएछ, तर भाग्न सक्ने ठाउ“ पनि प्रशस्तै छ, त्यसैले जीवितै छ भन्ने आशा पालेका छौ ।’
सविनको खोजीमा परिवारले धेरै ज्योतिष पनि देखाए अधिकांशले सविन जीवितै छ, फर्केर आउँछ भनेपनि उनीहरुको आशा झन थपिएको छ । 
सविन फुपु बाटुली थापाका अनुसार सविन बेपत्ता भएदेखि नै आमा विछिप्त बन्नुभएको छ । छोरा फर्कने आशामा भगवानको नाम जप्ने, पूजा गर्ने, बत्तीमा तेल थप्ने र बत्ती काट्दै दिन बिताउने गर्नुभएको छ । 
क्याम्पबाट तिब्बत नजिकै भएकाले भागेर तिब्बतमा पुगेको हुनुसक्ने अनुमान छ परिवारको । क्याप्टेन सविनको परिवारले सरकारले तिब्बतमा समेत खोजी गरिदिन आग्रह गरेका छन् ।

Post a Comment

 
Top