विद्यार्थी र उसको परिवारलाई बिगार्नेगरी
शिक्षकले किन गतिलो पढाउँदैन त ? उत्तर सजिलो छ– उसले त्यो विषयको
पाठ्यक्रम, शिक्षण सिकाई क्रियाकलाप र सिकाई उपलव्धीबारे नै बुझेको हुँदैन ।
बुझेपनि आफ्नो सजिलो र स्वार्थ अनुसार बुझ्छ । त्यसो भए नबुझ्ने र आफुखुशी
गर्नेे शिक्षकले किन पढाउँछन् त ? किनकी उ आफुलाई अरुभन्दा निकै बुझ्ने र
बाठो ठान्छ । उसलाई शिक्षक बनाउने र मान्नेले समेत सजिलै पत्याइदिन्छन् ।
फलस्वरुप उसले सधैं गलत पढाउँछ, विद्यार्थीले सधैं गलत बुझ्छन् र
बिग्रन्छन् । देशलाई आफ्नो स्वार्थ अनुसार संघीयतामा लैजान खोज्ने
नेताहरुले पनि यसैगरी नागरिकलाई बिगार्दैछन् ।
संविधानको सबैभन्दा अप्ठेरो विषय
संघीयतामा बल्लतल्ल कुरो मिलाउन खोजेर संविधानको नतिजा घोषणा गर्ने बेला
आउनै लाग्दा सीमांकनको परीक्षा नै बिग्रन खोजेको छ । देश हाँक्ने ठाउँमा
जम्मा भएका हाम्रा नेताहरुलाई शिक्षकसँग तुलना गर्ने हो भने उनीहरुमध्ये
केहीले संघीयता बुझेका छैनन् । बुझेपनि आफ्नो स्वार्थ अनुसार बुझेका छन् ।
बुझ्दै नबुझेका, अलिअलि मात्र बुझेका र आफ्नो दुनो सोझ्याउने हिसाबले मात्र
बुझेका तिनै नेताहरु नागरिकलाई गलत पढाइरहेका छन् । मिलेर बसेका नागरिकलाई
भड्काउने हिसाबले मात्र बुझाउने प्रयत्न गरिरहेका छन् ।
नेताहरुले आफ्नो स्वार्थ अनुसार बुझाउन
खोज्दा एकथरी नागरिकले ठाने– संघीयताको सीमांकन गर्दा गाउँमा खसी काट्दा
मासु भाग लगाए झैं जिल्ला र क्षेत्र भागबण्डा गर्नुपर्छ । अर्काथरीले
बुझे–मासु भाग लगाए झैं होइन, कांक्रा चिरे झैं चिनुपर्छ, फर्सी फोरे झैं
फोर्नुपर्छ । मेरो भागमा अलि धेरै पार्नुपर्छ, उसलाई थोरै दिए पनि पुग्छ ।
अझ सीमांकन गर्नु भनेको आफ्नो जिल्ला र
क्षेत्र टुक्र्याएर पराईलाई सधैंका लागि सुम्पिनु हो भनेर बुझ्नेहरु पनि
देखिए । आफ्नो नाममा र भागमा प्रदेश नपरे त सबैथोक गुम्ने भयो, त्यसैले
मेरो लागि छुट्दै प्रदेश चाहिन्छ भन्नेहरु पनि भए । सुदूरपश्चिममा खण्ड र
अखण्डबीच भैरहेको आन्दोलनमा यही देखियो । थारु समुदायलाई थरुहट प्रदेश
चाहिने, कैलाली र कञ्चनपुरका भूभाग आफुतिर पार्नुपर्ने । अनि अखण्डवालाले
बुझे–केही भूभाग थरुहट प्रदेशमा पार्नु आफ्नो हातको औंला काटेर अर्कैलाई
दिनु हो । त्यस क्षेत्रमा राजनीति गरेर केन्द्रमा ठूलो भाग थाप्ने
नेताहरुले पनि त्यही बुझाए । फलस्वरुप मिलेर बसेका नागरिक तेरो होइन मेरो
भन्ने पारामा लड्न थाले ।
हरेक जातको प्रदेश हुनुपर्छ भनेर पहिल्यै
रोपिएको बीउले समेत कलहको फल फलाउन मद्दत गर्यो । मधेस प्रदेशमा पहाडी
समुदाय रहन सक्दैनन् र एक जातको राज्यमा अर्को जातको अस्तित्व हुँदैन भन्ने
गलत पाठले सामाजिक सद्भाव खलबलिन थाल्यो । अनि मेरो जात र समुदायलाई
छुट्टै प्रदेश नदिए मेरो र हाम्रो भागमा अधिकार पर्दैन भन्ने बुझाईले
महत्वाकांक्षा बढाउँदै लग्यो ।
एक त नागरिकले संघीयता बनेको राम्रोसँग
बुझेकै छैनन् । आफु जुन र जस्तो प्रदेशमा भएपनि सिंगो देशभित्रकै नागरिक
हुन्छु भन्ने थाहा नपाएर प्रदेशलाई परदेशको रुपमा बुझ्नेहरु धेरै भए ।
प्राकृतिक स्रोत र अधिकार बाँडफाँडबारे प्रष्ट नभईकन नेताहरुले पनि हचुवा र
आफ्नो स्वार्थ पूर्ति गर्ने हिसाबले सीमांकनको रेखा थपघट गर्न थाले ।
सिकारु चित्रकारले जस्तो नक्साभित्र मोटो धर्को कहिले यता तन्काए, कहिले
उता खुम्चाए । पहिले क्रिकेटमा छक्का हाने झैं ६ भने । पछि तासमा सत्ता
पल्टाए झैं ७ देखाए । ६ हुँदा के भएन, ७ हुँदा के भयो भनेर बुझाउन सकेनन् ।
आफैं प्रष्ट नभएपछि नागरिकलाई प्रष्ट
पार्न सक्ने त कुरै भएन । फलस्वरुप संघीयताको सकसले देशलाई संकटमा फसाएको छ
। संविधानसभा र मुख्य दलले स्वीकारिसकेको संघीयता नै ठीक छैन भन्ने स्वर
पनि बलियो हुन थालेको छ । मारपिट, झैगडा देखेर वाक्कदिक्क भएका नागरिकलाई
अब संघीयता काम छैन भन्ने लागेपनि देश संघीयताबाट पछाडि हट्न सक्दैन ।
संघीयता बिनाको संविधान जारी हुन पनि सक्दैन ।
त्यसैले नबुझेका र गलत बुझेका नागरिकलाई
नेताहरुले संघीयताबारे बुझाउन सक्नुपर्यो । प्रदेश बन्दा कुनै ठाउँ अर्को
परदेशमा पर्ने होइन, आफ्नै देशभित्र पर्छ भन्ने कुरा सम्झाउन सक्नुपर्यो ।
सीमांकन र नामांकन जस्तो भएपनि त्यो ठाउँका नागरिकले बराबरी अधिकार पाउँछन्
भन्ने ग्यारेन्टी गरिदिनुपर्यो । त्योभन्दा पहिले नेता आफैं आफ्नो
स्वार्थभन्दा माथि उठ्नुपर्यो । संघीयताको सही पाठ बुझाउनुपर्यो ।
संघीयतालाई लिएर उत्पन्न संकट समाधान गर्ने काम फेरि पनि यिनै नेताहरुको नै
हो ।
Post a Comment