राजविराज, भदौ ४– आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई ५० लाख रुपैंया दिने निर्णय वर्तमान समयको माग भएको मधेशी मोर्चाका नेताहरुले दावी गरेका छन् । यो निर्णयको चौतर्फीबाट बिरोध भैरहँदा शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा संयूक्त पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले यस्तो दावी गरेका हुन् । 
१० लाख रुपैंयाले सहिदको उचित सम्मान हुन नसक्ने भन्दै मोर्चाका संयोजक उपेन्द्र यादवले सहिदको सम्मानका लागि रकम वढाएर ५० लाख बनाइएको बताउनुभयो । उहाँले आन्दोलनमा मर्नलाई प्रोत्साहन गर्न वा आन्दोलनकारीलाई आराजक तथा हिंस्रक बनाउनलाई यस्तो निर्णय नगरेको दावी समेत गर्नुभयो । 
मानव जीवनको कुनै मूल्य नहुने गरेको बताउँदै यादवले आन्दोलनलाई सकेसम्म शान्तिपूर्ण र संयमित पार्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको बताउनुभयो । 
मधेशी जनताको मागलाई मध्यनजर गर्दै उचित समयमा मधेशवादी दलले सामुहिक रुपमा संविधानसभा समेत छाड्न सक्ने बताउँदै यादवले समय आए एक मिनेट पनि संविधान सभामा नबस्ने बताउनुभयो । मोर्चाका अर्का नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सहमति सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।

Post a Comment

 
Top