भदौ १२ – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक जोसे मोरिन्हो क्लबको मेडिकल टिमकी मुख्य डाक्टर इभा कार्नियोरप्रति गरेको व्यवहारका बारेमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले छलफल गर्ने भएको छ । आउँदो सप्टेम्बर ११ मा हुने फिफाको मेडिकल कमिटिको बैठकमा मोरिन्होले क्लबकी मुख्य डाक्टर कार्नियोर तथा मेडिकल टिमप्रति गरेको व्यवहारका बारेमा छलफल हुनेछ । मोरिन्होले मुख्य डाक्टर कार्नियोरको अपमान गरेको भन्दै विरोध भएपछि फिफाको मेडिकल कमिटिले यस विषयमा बैठकमा छलफल गर्ने जनाएको हो । प्रिमियर लिग अन्तर्गत अगस्ट ८ मा स्वान्सीसँगको २–२ को बराबरीमा रोकिएको खेलको अन्तिम समयतिर इडेन हजार्ड लडेपछि डाक्टर इभा र  जोर्न फियान उपचारका लागि मैदान छिरेका थिए । तर उनीहरु मैदान छिर्नु गलत रहेको मोरिन्होको दाबी छ । उनले थाकेका कारण लडेका हजार्डलाई मैदान बाहिर निकालेर डाक्टरले चेल्सीलाई ९ खेलाडीमा सिमित गरेको र टिममाथि दबाब श्रृजना गरेको आरोप लगाए । थाइबट कर्टिस ५१ मिनेटमा रातोकार्ड पाउँदै बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित थियो । फिफाको मेडिकल कमिटिले आउँदो बैठकमा यस बारेमा छलफल गरी निर्णय गर्ने जनाएको छ । मेडिकल कमिटिले डाक्टर कार्नियोरका पक्षमा रहेको स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top