गोरखा, भदाै ९ -  दुई वर्षअघि अर्थात ७० सालको हिउँदयामतिर गोरखाको विकट उत्तरी गाविस ल्होका केही बासिन्दा बिरामी परे । मान्छे मात्रै होइन, पशु चौपाया र विशेषगरी खच्चडहरु पनि बिरामी पर्न थालेपछि गाउँलेहरु चिन्तामा परे । सदरमुकामबाट ४७ कोष टाढाको त्यो गाउँमा स्वास्थ्य चौकी त छ, तर त्यहाँका बासिन्दा आधुनिक उपचार पद्धतिलाई त्यति धेरै विश्वास नगर्ने भएकाले उनीहरु बिरामी परेको जानकारी स्वास्थ्य संस्थासम्म पुगेन । 
त्यसमाथि बिरामी परेका खच्चडहरुको उपचारको त कुरै भएन । खच्चडहरुमा पातलो र हल्का रगत मिसिएको दिशा हुने समस्या देखिएपछि गाउँलेहरुले बिना आधार पानीमा कसैले विष मिसाइदिएको हुन सक्ने अनुमान गरे र स्थानीय खामसुङ लामा र ङिल्दा लामा दम्पतीलाई त्यसको दोष लगाए । आधारहीन आरोप लामा परिवारले सहने कुरै भएन । त्यसकै कारण गाउँलेहरुबीच मनमुटाव भयो । केही समयपछि मानिस र खच्चडहरु निको भए, कुरा सेलायो । 
तर एकाएक ल्हो गाविसको वडा नम्वर ५ देखि ९ सम्मका वासिन्दाले २ वर्षअघिको कुरा कोट्याउँदै गाउँ भेला डाके । भेलाले लामा दम्पतीलाई २ लाख रुपैंया जरिवाना लगाउने र त्यो तिर्न मञ्जुर नभए गाउँ निकाला गर्ने निर्णय ग¥यो । बैशाख ३ गतेको भेलाले २ लाख रुपैया तिर्न ९ गतेसम्मको भाका दिएको थियो । ‘खामसुङले बिना कारण किन जरिवाना तिर्ने भनेर प्रतिवाद गरेनछन्’ यसअघि त्यही गाविसको सचिव रहेका वेदप्रकाश ढकाल भन्नुहुन्छ, ‘त्यहाँका वासिन्दा जतिसुकै अव्यवहारिक किन नहोस्, गाउँ भेलाको निर्णयलाई कानुन भन्दा बढी मान्छन् ।’ सो कारण हुन सक्छ, गाउँलेले आरोप लगाएका चारैजनाका तर्फबाट खामसुङले आफूसँग २५ हजार रुपैया मात्रै भएको र त्यति पैसा लिईदिन आग्रह गरे । गाउँलेले ९ गतेसम्मको भाकामा बाँकी रकम तिर्न भनेपनि ८ गते बिहानसम्म थप पैसाको जोहो हुन नसकेपछि लामा दम्पतीले काठमाडौंमा भएकी छोरीलाई फोन गरे । छोरीलाई हेलिकप्टर लिएर आउन भनेका उनीहरु ८ गते काठमाण्डौं ओर्लिए । 
अनाहकमा गाउँबाट निकालिएका चारैजनाको प्रतिनिधित्व गर्दै ५२ वर्षका खामसुङ गोरखादेखि काठमाडौंसम्म धाए, गाउँ फर्कने वातावरण बनाइदिन माग गर्दै । उहाँको अर्को माग छ, गाउँ निकाला गर्ने निर्णय गराउनेमध्येका केहीलाई कारवाही गर्नुपर्ने । जिल्ला प्रशासन कार्यालयमा बुझाइएको निवेदनमा ओर्केन धोर्जे लामा, पेम्बा लामा र छिरिङ लामालाई कारवाही हुनुपर्ने माग गरिएको छ । ‘छिरिङ ल्होका गाविस सहायक हुन् र पढेलेखेका भएकाले उनले गाउँ भेलाको माइन्युट लेखेका रहेछन्’ ल्होको छिमेकी गाविस सामागाउँका सचिव बेदप्रकाश ढकाल भन्नुहुन्छ, ‘अरु दुईजनाले भने गाउँ भेला बोलाउन भूमिका खेलेको पीडितको आरोप छ ।’ 
राष्ट्रिय मानवअधिकार आयोगसम्म उजूरी पुगेपछि जिल्ला प्रहरी कार्यालयले गाउँ भेला गराउने मध्येका केहीलाई सदरमुकाम बोलायो । केहीबेरको छलफलपछि उनीहरु गाउँ निकाला गर्ने निर्णय फिर्ता लिन सहमत भए । ‘खामसुङ सहित चारै जनालाई ससम्मान गाउँ फर्काउन मञ्जुर छौं ।’ उनीहरुले प्रहरीलाई लिखित प्रतिवद्धता दिएका छन् । तर निकालामा परेकाहरु गाउँ फर्कन सकेका छैनन् । उनीहरुको एउटै अडान छ, दोषीहरुलाई कारवाही हुनुपर्छ । ‘एकदिन भएपनि जेलमा थुन्नुपर्छ’ खामसुङले उज्यालो अनलाइनसँग संक्षिप्त टेलिफोन सम्पर्कमा भन्नुभयो । 
गाउँलेहरु विचमा आएको फाटोको यो प्रसङबारे ढिलो गरि थाहा पाएका नेपाली काँग्रेस गोरखाका सभापति हरिबहादुर घलेले प्रमुख जिल्ला अधिकारीसम्म यो कुरा पुर्याउनुभयो । गाउँलेहरुबीच सहजीकरणको पहल गरिरहेका गाविस सचीव ढकालले खामसुङलाई फोन गरि प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सेनासँग कुरा गर्न लगाउनुभयो । ‘म आफैं तपाईंलाई गाउँमा लगेर सबैसँग मिलाएर राखेर आउँछु’ तिमिल्सेनाले टेलिफोनमै भन्नुभयो, ‘तर तपाईं काठमाण्डौंबाट जिल्ला आउनुपर्रयो ।’ 
काठमाडौंबाट गोरखा आइपुगेका खामसुङ र अरु ३ जना गाउँ फर्कने वातावरण बन्ला त ? यो थाहा पाउन केही दिन पर्खनु पर्ने हुन्छ ।

Post a Comment

 
Top