काठमाडौं, भदौ ११ – सरकार र मुख्य दलले गरेको वार्ता प्रस्तावबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार छलफल गर्ने भएको छ । दिउँसो मोर्चामा आवद्ध दलका शीर्ष नेताको बैठक बस्ने तयारी छ ।
बैठकपछि वार्ता प्रस्तावबारे औपचारिक धारणा सार्वजनिक गर्ने मोर्चाका नेताले बताएका छन् । मोर्चाले यसअघि भएको सम्झौता कार्यान्वयन र संविधानमा आफ्नो माग समेटिनुपर्नेमा जोड दिँदै आएको छ ।
मुख्य चार राजनीतिक दलले असन्तुष्ट दल र पक्षसँग सार्थक संवाद गरेरै समस्यामा समाधान गर्ने निर्णय गरेका छन् भने प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको लागि असन्तुष्ट दललाई पत्राचार नै गर्नुभएको छ । संविधानसभाभित्र र बाहिर रहेका दलसँग संवाद गरी उनीहरूलाई पनि विश्वासमा लिएर संविधान घोषणा गर्ने वातावरण तयार पार्न नेताहरुले पहल गरेका छन् ।
थारु, मधेसी, आदिवासी, जनजाति तथा दलित समुदायले विभिन्न माग राखी आन्दोलन गरिरहेको र उनीहरूलाई विश्वासमा लिएर संविधान जारी गर्नुपर्ने सन्दर्भमा सबै पक्षलाई विश्वासमा लिने र वार्तालाई सघन बनाउने विषयमा कुराकानी भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
दलबीच धर्म, मतप्रतिशत सीमा, नागरिकता, संवैधानिक अंगका पदाधिकारीको पुनःनियुक्ति गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । ती विषयमा सहमति नहुँदा दलहरूले परिमार्जित मस्यौदामा समेत विवाद टुंगिन बाँकी उल्लेख गरेर प्रतिवेदन संविधानसभामा गरेका थिए ।

Post a Comment

 
Top