नेपालगन्ज, भदौ १० –  बाँकेमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संयुक्त थरुहट मधेस सङ्घर्ष समितिले दुई दिन नेपालगन्ज बजार खुल्न दिने भएको छ । रक्षाबन्धन पर्वलाई मध्यनजर गर्दै  नेपालगन्जमा दुईदिन बजार पसल संचालन गर्न दिने भएको हो ।
समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी रक्षाबन्धनलाई मध्यनजर गर्दै  शुक्रबार र शनिबार बन्द खुकुलो पारिएको जनाएको छ । शुक्रबार र शनिबार बजार खुल्न दिने, मोटरसाइकल र अटो रिक्सा निर्वाध संचालनका लागि कुनैपनिखालको अवरोध नगरिने समितिका प्रबक्ता तथा तमलोपाका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्राले जानकारी दिनुभयो ।
बन्द खुकुलो पारिएपनि सार्वजनिक यातायातका साधन भने चल्न नदिने समितिले जनाएको छ । बाँकेको कोहलपुरमा  आन्दोलन गरिरहेको थारु आन्दोलन संयुक्त सङ्घर्ष समितिले भने दिउँसो १२ बजेपछि बजार खुला गर्न दिएको छ ।
कोहलपुर उद्योग व्यापार सङ्घ र आन्दोलनरत पक्षबीच भएको सहमती अनुसार दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने र त्यसपछि खोल्ने सहमती भएको सङ्घर्ष समितिका प्रबक्ता फुलाराम थारुले जानकारी दिनुभयो ।  १२ बजेपछि खुलेका पसल आन्दोलनकारीबाट तोडफोड भएमा त्यसको क्षतिपुर्ती पनि आन्दोलनरत पक्षले दिने सहमती भएको छ ।
मोटरसाइकल र अटो रिक्सा पनि चल्न दिइएको समितिले जनाएको छ ।  आन्दोलनकारीले नेपालगन्ज र कोहलपुरमा शिक्षण संस्था पनि संचालन गर्न आग्रह गरेका छन् । यसअघि बाँकेमा बुधबार आन्दोलनरत पक्ष र सुरक्षा निकायबीच आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको थियो । 
बाँकेमा थारु संयुक्त सङ्घर्ष समिति र मधेस केन्द्रीत राजनीतिक दलहरुको १६ दिनदेखिको बन्दका कारण जनजीवन कष्टकर हुँदै आएको छ । बाँकेको नेपालगन्जमा सोमबार र मङ्गलबार तथा कोहलपुरमा मङ्गलबार र बुधवार कफ्र्यु समेत लगाइएको थियो । नेपालगन्ज र कोहलपुरमा  निषेधाज्ञा भने यथावत रहेको छ ।

Post a Comment

 
Top