काठमाडौं, भदौ ६ – रोगबारे परामर्श लिन र ग्रामीण क्षेत्रका बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा दिन सरकारले ग्रामीण टेलिमेडिसिन सेवा सुरु गरेको छ । तर टेलिमिडसनमा आउने ब्लफ कलले डाक्टरहरु हैरान भएका छन् ।

जब राति पर्छ, यौन सम्बन्धी कल बढी मात्रामा आउने गरेका छन् । एउटै व्यक्तिले पटक पटक कल गर्ने, अनावश्यक कुरा सोध्ने हुँदा तनाव थप्ने गरेको छ । ‘महिला पुरुष भन्ने हुँदैन बराबरी नै अनावश्यक कल आउँछन्’ टेलिमेडिसिन सेवाका समन्वयकर्ता गोपीलाल ओलीले भन्नुभयो ।
‘सेवाग्राही साँच्चै समस्यामा परेर हो वा अन्य कारण हो छुट्याउन सकिंदैन, यसले समस्या थपेको छ’ समन्वयकर्ता ओलीले भन्नुभयो । यौन सम्बन्धी मात्र होइन सामान्य औषधि कति मात्रामा खाने भनेर पनि सोध्नेहरु छन् ।
यसलाई सहज रुपमा लिने गरिएको उहाँले बताउनुभयो । साँच्चै समस्यमा पर्नेहरुले पनि फोन गर्छन् । ‘रुँदै रुँदै फोन गर्छन्, अब म मर्छु होला डाक्टर साब के गर्न सकिन्छ भन्छन्’ उहाँले भन्नुभयो, ‘गम्भीर रुपमा आएका समस्यालाई सम्बोधन गर्नुपर्ने हुन्छ ।’
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाले ललितपुरको पाटन अस्पतालमा रहेको समन्वय कक्षबाट टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको छ । यो सेवा २०६७ साल माघ ७ गतेदेखि औपचारिक रुपमा सञ्चालन भएको हो ।
मन्त्रालयको वार्षिक ५० लाख अनुदानमा पाटन अस्पतालबाट सेवा सञ्चालन भएको छ । बिरामीलाई परामर्श दिन ६ जना विशेषज्ञ डाक्टर पाटन अस्पतालले खटाएको छ । डाक्टर सहित भवन, पानी, बिजुली लगायत आवश्यक सेवा पनि पाटन अस्पतालले नै उपलब्ध गराएको छ ।
सेवा सञ्चालनका लागि सर्जरी, प्रसूति, अर्थोपेडिक, पेडियाट्रिक लगाएत विशेषज्ञ डाक्टर रहेका छन् । बिरामीसँग संवाद गरेर रोगबारे बुझ्न र समाधानका लागि अहिले तीन तरीकाले सेवा प्रदान गरिएको छ ।
१) फोन सम्पर्क अर्थात फोनबेसको माध्यम
२) अनलाइन अर्थात मेलबेसको माध्यम
३) भिडियो अर्थात भिजुअलबेसकोे माध्यम
फोनबेसमा बिरामीले टोल फ्रि नम्वर १६६००१२३४५५ मा सम्पर्क गर्न सक्छन् । यो नम्वरलाई छोटो रुपमा १११५ बनाएर सेवा प्रदान गरिएको छ । यो निःशुल्क सेवा हो । फोनबेस मार्फत सेवा लिदा १११५ मा जुनसुकै फोन प्रयोगकर्ताले फोन गर्दा पनि पैसा लाग्दैन । सेवा सेन्टरमा आउने कलमार्फत समस्या बुझेर सम्वन्धित विशेषज्ञबाट सेवा पाउन सकिन्छ । समस्याको समाधान सेवा सेन्टरबाटै हुन सक्ने भए त्यहीँबाट र नसक्ने भए नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सुझाइन्छ ।
वेवबेसबाट सेवा लिन चाहेमा सम्वन्धित जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई अनलाइनमा राखिन्छ । बिरामीलाई प्रदान गरेको उपचार ठिक छ कि छैन भनेर विशेषज्ञ मार्फत बुझ्ने गरिन्छ । उपचार गलत भएको भए सच्चाउन सुझाव दिइन्छ ।
यदि वेवबेसमा पठाएका बिरामीको उपचारमा शंका लागेमा विशेषज्ञ डाक्टरले हेरेर उपचार गर्छन् । यसका लागि भिजुअल बेसमा राखिन्छ । सम्वन्धित जिल्लाका डाक्टरले बिरामीलाई भिजुअल अर्थात पोलिकममा देखाउने गर्छन् । पोलिकम मार्फत बिरामी हेरेर सेन्टरका डाक्टरले उपचार गर्ने गर्दछन् । भूकम्पका कारण उपकरण बिग्रेकाले केहि जिल्लामा भिजुअल सेवा भने प्रभावकारी बन्न नसकेको टेलिमेडिसिन कार्यक्रममा कार्यरत जनस्वास्थ्य निरीक्षक काशिनाथ रिमालले जानकारी दिनुभयो ।
यी तीन सेवामध्ये प्रभावकारी बनेको छ, फोन बेस सेवा । जोसुकैले जुनसुकै समयमा सम्पर्क गर्ने र सहज माध्यम भएकाले यो बढि प्रभावकारी भएको हो । वेवबेसमा भनेको बेला डाक्टर नभेटिन सक्छन् । ‘तपाईंलाई रातको १२ बजे सेवा चाहिँदा के गर्ने, एक मात्र विकल्प फोन बेस सेवा हो, किनभने मध्यरातमा पनि समस्या समाधान गर्न डाक्टर सहजै उपलब्ध हुन्छन्’ रिमालले भन्नुभयो ।
निःशुल्क स्वास्थ्य सेवा अन्र्तगत प्रदान गरिएको यो सेवा दुर्गम क्षेत्रका बिरामीका लागि केन्द्रित छ । दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उदेश्यले थालिएको कार्यक्रममा अहिले ३० जिल्ला जोडिएका छन् ।

Post a Comment

 
Top