कास्की, भदौं ४ - नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा आफ्नै कार्यकर्ताले ताला लगाएका छन् । लेखनाथमा कांग्रेस नेता रामजी पौडेल (बादल) को हत्या आरोपमा पक्राउ परेकालाई छुटाउन पार्टीको नेतृत्व लागेको भन्दै कार्यकर्ताले पोखरा महेन्द्रपुलमा रहेको पार्टी कार्यालयमा ताला लगाएका हुन् । 
लेखनाथबाट पोखरा आएका कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा स्थानीय नेतृत्व विरुद्ध नाराबाजी गर्दै पार्टी कार्यालयको च्यानल गेटमा समेत ताला लगाएका छन् । तालाबन्दी पछि बादलको तस्वीर ढोका आडमा झुण्डाएका छन् । 
उनीहरुले घटनाको निश्पक्ष छानविन गर्न समिति बनाउन पनि माग गरेका छन् । गुटलाई कमजोर पार्न आफ्नो दाजुको हत्या भएको भन्दै मृतक बादलका भाइ गोपीराज पौडेलले काँग्रेसको संस्थापन पक्षले अहिले पनि हत्याराको संरक्षण गरिरहेको आरोप लगाउनुभयो ।    बादलको हत्यारालाई कारबाही गर्न दबाव दिनुको सट्टा पार्टी नेतृत्वले हत्याका योजनाकार भनेर पक्राउ गरिएका राजेन्द्रमणी लामिछानेलाई छुटाउन प्रहरी, प्रशासनलाई दवाब दिन थालेको तथा हत्यामा संलग्न भई फरार भएकालाई बोर्डर कटाएको सूचना प्राप्त भएको पौडेलले दाबी छ । 
नेपाली कांग्रेसका जिल्ला स्तरका नेता बादलको गएको साउन २८ गते शव भेटिएको थियो । हत्याको आशंकामा प्रहरीले कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने र तरुण दलका नेता राजु रानाभाटलाई पक्राउ गरेको छ भने प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार छन् ।

Post a Comment

 
Top