सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना
घिमिरे ‘सुन्तली’ – भूकम्पले सिंगो देश रोइरहेको बेला हामी अमेरिकामा थियौ ।
त्यहाँ हामी २७ बटा कार्यक्रममा सहभागी हुने तय भएको थियो । नवौं
कार्यक्रम सकेर हामी सेन्ट लुइसमा थियौ ।
१० औं कार्यक्रममा सहभागी हुन जाने
मध्यरात नेपालमा भूकम्प गएको खबर सुन्यौ । नेपालमा भूकम्प गएको र धरहरा
ढलेको खवर सुनेपछि हाम्रो होसहवास नै उड्यो । धरहरा नै ढलेपछि त अब सबै
सकियो भन्ने लाग्यो । त्योबेला आफ्नो परिवार, आफन्त कहाँ छन्, अवस्था के छ,
भन्ने नै मनमा बढि छटपटी भयो । दुईचार
जनाको सम्पर्कपछि भने मनलाई केही शान्त पार्ने प्रयास गर्यौं । त्यसपछि
बिस्तारै फेसबुकमा सबै देखियो–पहाड खसेको, पर्खाल ढलेको, मान्छे च्यापिएका,
घाइते भएका, ज्यान गुमाएका, ओ हो देशमा ठुलो विपत् आइलाग्यो भन्ने लाग्यो ।
भूकम्पपछि पराकम्प लगातार गएका कारण झन् त्रासको वातावरण भयो ।
विश्वसामु पनि ठुलो हलचल भयो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालमा ठूलो भूकम्प गयो भन्ने खबर
प्रसारण गरे । यसकारण पनि सम्पूर्ण नेपाल र नेपालीलाई असर पारेको छ
भूकम्पले भन्ने लागेपछि हामी केही गर्नुपर्छ भन्ने लागेर योजना बनाउनतर्फ
जुट्यौं ।
अमेरिकामा सहयोग जुटायौं
हामी सरसफाई दूत पनि भएकोले अमेरिकाका
विभिन्न हाई वे मा चर्पी निमार्णका लागि फन्ट तयार गरिरहेका थियौं । यो
फन्ट पनि नेपालमै आएर खर्च गर्ने योजना थियो । ठिक त्यहीबेला नेपालमा
भूकम्प गएकाले देश छाडेर विदेशमा बस्नेहरुसँग सहयोग माग्ने विचार आयो ।
किनभने जसले देश छोडेको हुन्छ, उसलाई स्वदेशको निकै माया लाग्छ । हाम्रो
टिममा सबैले यसलाई अनुभव पनि गर्यौं । अनि कार्यक्रम स्थगित गरेर स्वदेश
फर्किने र भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय भयो ।
यसै अनुसार हामी कलाकारको टिमले नेपालको
पीडामा सहयोग गर्न इच्छुक विदेशी सहित त्यहाँका नेपाली दाजुभाइ
दिदीबहिनीसँग सहयोग जुटाउन लाग्यौं । हामी त बाराक ओवामाको देशमा थियौं ।
बेला बेलामा लाग्थ्यो ओबामा नै नेपाल गएर केही सहयोग गरे हुन्थ्यो नि भन्ने
। तर सम्भव थिएन । देशका लागि त हामी आफैले गर्नुपर्छ भन्ने भावना आयो ।
अनि बाँकी सबै कार्यक्रम स्थगित गरेर वैशाख २० गते हामी नेपाल फर्कियौं ।
उद्धार र राहतमा सक्रिय
देशको पीडा, नागरिकको दुखाईमा मलम लगाउन
हामी स्वदेश फर्किएकै दिन उद्धार र राहतमा जुट्यौं । नेपालमा वैशाख १२ गते
गएको भूकम्मका बेला ठ्याक्कै कम्पनको अनुभव त गर्न पाइएन, तर पराकम्पनको
अनुभव भयो । नागरिकको पीडा कस्तो छ, विपद् कस्तो हुन्छ भन्ने हामी आफैले
भोग्यौं । भूकम्पले जनधनको विनाश भयोे, जुन नहुनुुपर्ने थियोे । एक हिसावले
त लाग्छ भगवानले पनि धेरै जोगाएका छन् । किनभने भूकम्प शनिवार आयो, दिनको
समयमा आयो, त्यसमाथि तत्काल उद्धार र राहतका कार्यक्रम सञ्चालन भए ।
तत्कालको आवश्यकता खाद्यान्न र त्रिपाल थियो । अमेरिकामा जुटाएको राहत र
त्रिपालको व्यवस्थापनतर्फ हामी केन्द्रित भयौ ।
राजधानी काठमाडौं आएलगत्तै हामी ललितपुर,
भक्तपुर, धादिङग, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक लगाएतका जिल्लामा पुग्यौं
। १० जिल्लामा पुगेर राहत बाँडेपछि हामी बल्ल काभ्रे पुग्यौं । त्यसबेलामा
हामी जिवनविज्ञान सामाजिक संस्था, सगुन डट कम सामाजिक सञ्जाल, भद्रगोल र
मेरी बास्सै टिमका साथीहरु मिलेर काम थालेका थियौं । सुरुको काम राहत वितरण
सकेर, हाम्रो टिम चर्पि निमार्ण र विद्यालय निर्माणमा लाग्यो ।
काभ्रेको पहरी बस्तीमा नमुना घर योजना
धादिङग, गोरखा अनि काभ्रेमा जाँदा धेरै
ठाउँ हेरीसकेपछि मात्र हामीले काभ्रेको पाँचखाल नगरपालिका १६ को
डाँडागाउँमा बस्ती निर्माण गर्ने विचार गर्यौं । पहरी बस्ती एक त
सीमान्तकृत समुदाय, अनि आफैमा आत्मनिर्भर पनि हुन नसकेको र कसैको पनि आँखा
पुग्न नसकेकाले हामीले त्यहीँ नै एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरेका
हौं । हाम्रो उदेश्य घर निर्माण गर्ने मात्र होइन कि उनीहरुको जीवनस्तर पनि
परिवर्तन गर्ने थियो । सुरुमा निकै चुनौती थिए, संर्घष पनि गर्नुपर्यो ।
सुरुमा त्यहाँको समुदायलाई मिलाउने, विश्वास दिलाउने, कस्तो घर बनाउने
भन्ने जस्ता कुरामा समस्या भयो । पहरी
समुदायको आफ्नो जग्गा छैन । उनीहरु भगवती मन्दिरको जग्गा भोगचलन गर्दै
आएका छन् । पहरी समुदायको पनि दुई बस्ती छ । तल्लो र माथिल्लो बस्तीका
नागरिकलाई एकीकृत बस्तीको विषयमा बुझाउनुपर्ने भयो । उनीहरुको चाहना पुरानै
ठाउँमा घर बनाइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना एकीकृत बस्ती निर्माण
गर्ने कुरा फरक पर्यो । तल्लो बस्तीमा विवाद भयो । विवादपछि हामी राती ११
बजे टेन्ट बोकेर माथिल्लो बस्तीमा पुग्यौं । बिहान ४ बजे मात्र स्थानिय
श्याम पहरी र राम पहरी जग्गा दिन राजी भए । अन्त्यमा यो नै उपयूक्त ठाउँ हो
र पछि पर्यटकीय गन्तव्य पनि बन्न सक्छ भनेर काम थालेका थियाैं । किनभने
त्यहाँबाट पहाड देखिन्छ, मन्दिर छ, सुन्दर पनि छ । जग्गाको छनोट पछि काम
सुरु भयो ।
सुख दुःख सबै भोगियो
हामी टेन्टमा बसेका थियौ । भूकम्पपछिका
पराकम्प आउन रोकिएको छैन । बर्खाको समय हुनाले पानी पर्ने, हावाहुरी चल्ने,
दिउँसोमा असाध्यै गर्मी, लामखुट्टे भुसुनाले टोकेर हैरान पार्ने जंगलको
छेउ हुनाले बेलाबेलामा बाघ पनि आउँथ्यो । डर त्रासका बिच निरन्तर काम
गर्यौं । राम्ररी सुतेका दिन कुनै थिएनन् जस्तो लाग्छ । काम गरुन्जेल त
हामी पनि पहरी नै भयौं, भनौ न म सिताराम पहरी बनें, अनि उनि कुञ्जना पहरी ।
काम गर्दा नौलो अनुभूति भयो । सधै कलाकारिता गर्ने हामीले स्थानियसँग काम
गर्यौ ।
अभियान पूरा गर्न सुरुको सूत्र हाम्रो
नाता लगाउने थियो । कोही परबाट चर्किंदै के हो हामीलाई चाहिएको छैन भन्दै
आएमा मित लगाइहाल्ने । विरोधमा आउनेलाई फूलमालाले स्वागत गरी मित लगायाैं,
सुरुमै आफन्त बनायाैं, कोही मामा, कोही माइजु, काका–काकी भए ।
धेरै आरोप लागे
बस्ती निर्माण गर्दा मलाई त आरोप पनि धेरै
लाग्यो । धुर्मुसेले जंगल फडानी गर्यो, रुख सक्यो भनियो । उजुरी पनि
हालियो, अनि धुर्मुसेलाई जिल्ला चलान गरियो रे, जेलमा हालियो भन्ने जस्ता
कुरा आए । तर हामीले जंगलको बिचबिचको काम नलाग्ने सल्लो प्रयोग गरेका छौं ।
हामीले तीन किलोमिटर जति बाटो खनेर जंगलबाट काँधका बोकेर काठ ल्याएर काम
गरेका थियौं । अरु सामाग्री काठमाडौंबाट लगियो । ढुवानीको समस्या पनि भयो ।
यसरी बने घर
यो नमुना बस्तीमा २० घर छन् । ७० दिन खटेर
बनाएको बस्ती ६७ लाख ३६ हजार ८ सय २६ रुपैंयामा निर्माण सम्पन्न भएको छ ।
यसमा दाताहरुबाट उठेको झण्डै ४७ लाख हो भने अझै १९ लाख ऋण बाँकी नै छ । घर
बनाउँदा जमिनको लेवलबाट झण्डै चार फिट चारपाटे खाल्डो खनिएको छ । दुई फिट
पाटेसनको खाल्डो छ । सिमेन्ट, गिटी, बालुवाले पोलहरु जाम गरिएको छ ।
तलैदेखि ढुङ्गाको गाह्रो ल्याएर माथि डिपिसी ढलान गरिएको छ । प्लास्टर
लगाएर बनाइएका यी घरहरु भूकम्प प्रतिरोधी हुन् । हरेक तीनकोठा छ, भित्रै
ट्वाइलेट छ, ढल पनि व्यवस्थापन गरिएको छ । ट्वाईलेटको ढल ५ बटा बायोग्याँस
ट्याङकीमा राखिएको छ ।
राष्ट्रियतासँग सम्बन्धित रातो, सेतो र
निलो रंग लगाएर घर बनाईएको छ । डिस होम छ । घर अगाडि बगैँचा छ, अनि सँगै
पानीका लागि धारा छ । धारामा सरसफाईको काम गरेपछि फोहोर फाल्न
अन्डरग्राउन्ड पाइप फिटीङ्ग छ, जस्लाई अलग अलग ट्याङकीमा खसालिन्छ । बस्नका
लागि प्रतिक्षालय पनि छ ।
पलाञ्चोक भगवती मन्दिरमा दैनिक पूmल टिपेर
लैजानुपर्ने र जात्राहरुमा खट बोक्नुपर्ने पहरी समुदायका ६५ जना लाभान्वित
भएका छन् । सबै किसिमका फलफूल पाइने, तरकारी तथा खेतीपातीका लागि उर्बर
जमिन, जंगल, अनि पर्यटकिय क्षेत्र भएकाले सीमान्तकृत पहरी समुदायको आगामी
दिनमा जीवनशैली परिवर्तन हुने हामीले अपेक्षा गरेका छौं ।
Post a Comment