काठमाडौं, साउन ३० । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति प्रकट गर्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ।
नयाँ संविधानमा आफूहरूले चाहेजस्तो अधिकार नपाएमा पाकिस्तानबाट बंगलादेश छुट्टिएको घटना स्मरण गराउँदै मधेस टुक्रने चेतावनी दिएका सिंह, यादव र महतो कैलालीको टीकापुरबाट बुधबार लखेटिएका अन्नपूर्णपोष्ट दैनिकमा खबर छ। मधेस र थरुहट प्रदेशले आत्मनिर्णयको अधिकार पाउने गरी स्वायत्त प्रदेश नपाए मुलुकको एकतामै आँच आउन सक्ने धारणा राखेका मधेस केन्द्रित नेताहरू स्थानीयको आक्रोशको सिकार बनेका हुन्।
एमाले उपाध्यक्ष एवं सभासद् भीम रावलले शुक्रबार संसद्मा विशेष समय लिएर कैलालीको टीकापुरमा भएको आमसभामा तरबार
र खुकुरी लिएर निश्चित भूभागबाट आएर देश टुक्र्याउँछु भन्नेहरूलाई स्थानीयले लखेटेको बताए। उनले त्यसरी अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्नसमेत सरकार तथा संसद्सँग माग गरे।
रावलले यादव र सिंहले यो मुलुकको हालत पाकिस्तान र बंगलादेशजस्तै पार्छु भन्नु दुर्भाग्यपूर्ण रहेको बताए। उनले प्रश्न गरे, कांग्रेसजस्तो पार्टीले सिंहलाई त्यस्तो अभिव्यक्ति दिन निर्देशन त दिएन ?
संयुक्त थारू संघर्ष समितिले आयोजना गरेको सभामा कैलाली, कञ्चनपुरसहित तराईका जिल्लालाई थरुहट प्रदेशमा राख्न माग गरिएको थियो। सभामा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले मधेसी र थारुहरूसँग विगतमा गरेको सम्झौता सरकारले बिर्सिएको आरोप लगाए।
आफूलाई प्रमुख दल भन्न रुचाउने चार दल र तीनका शीर्ष नेताहरूले मधेसी र थारूको पहिचान गुम्ने गरी ल्याएको संविधान मान्य हुन नहुने धारणा यादवले राखे। उनले आफूहरू स्वायत्त मधेस प्रदेशका पक्षमा रहेको र उक्त माग पूरा नभए मधेश नेपालबाट अलगिन सक्ने चुनौती दिए।
आमसभामा सद्भावनाका अध्यक्ष महतोले आफूहरू थरुहटको आन्दोलनमा साथ दिन मधेसबाट आएको बताए।
कांग्रेसका सभासद् सिंहले थरुहट प्रदेशका लागि आफूहरू जस्तोसुकै सहयोग र समर्थन गर्न तयार रहेको बताए। पहाडीहरूले बनाउने संविधानबाट थरुहट प्रदेश बन्छ भन्ने कल्पनासम्म गर्नु गलत हुनेछ। कैलाली र कञ्चनपुरलाई थरुहट बनाउन कसैले रोक्न नसक्ने चेतावनी दिँदै सिंहले यो रोकिएमा मुलुकको एकताकै लागि संकट आउने बताए।

Post a Comment

 
Top