म्याग्दी, भदौ ३ –म्याग्दी जिल्लाका महिलाहरु मदिरा उत्पादन गर्न छाडेर गलैंचा बुनाई व्यवसायतिर आकर्षित भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाको सहयोग पाएपछि उनीहरु पुरानो पेशालाई परिवर्तन गरी नयाँ पेशातर्फ लागेका हुन् । 
दुर्गम मुना गाविसकी मायारुपी पुन वर्षोदेखि गाउँमा मदिरा उत्पादन गर्दै आउनुभएको थियो । दोवाकी तारादेवी पूर्जा र ओखरबोटकी दलकुमारी पुनले पनि मदिराको आम्दानीले घरखर्च चलाउने गरेका थिए । तर हिजोआज तीनै जनाको पेशा परिवर्तन भएको छ । हस्तकला साम्रागीको तालिम लिएपछि उनीहरुले पुरानो पेशालाई त्यागेर गलैचा व्यवसायको उत्पादन शुरु गरेका छन् ।
 सरस्वती एसपोर्ट एण्ड ईन्टपार्ट प्रालिले नियमित तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिक्रीको व्यवस्थापन गरिदिएपछि उनीहरु दैनिकजसो गलैचा बुन्नमा व्यस्त हुने गरेका छन् । 
मुनाकी मायारुपी पुनले भन्नुभयो, ‘मदिरालाई व्यक्तिगत आम्दानीको माध्यम मात्रै बनाएका थियौं, तर त्यसबाट स्वास्थ्य र समाजलाई असर गर्नेतर्फ ध्यान दिन सकेनौं ।’ उहाँले हातमा सीप भएपछि राम्रो आम्दानी हुने अन्य क्षेत्रहरू पनि फेला पर्ने गरेकाले गाउँका महिलालाई व्यवसायमा आउने वातावरण बनाएको बताउनुभयो । 
यस्तै पिप्लेकी सरस्वती सुवेदीले ग्रामीण क्षेत्रमा महिलाको जीवनस्तरमा परिवर्तन ल्याउन, मदिराको उत्पादन तथा बिक्री वितरणमा लागेकालाई निरुत्साहित गर्न गलैंचा व्यवसाय शुरु गरेको बताउनुभयो । सरस्वती गलैंचा उद्योगमार्फत जिल्लाका विभिन्न गाविसमा पुगेर महिलालाई स्वरोजगारमूलक तालिम दिन थालेपछि पिप्ले, भगवती, दोवा, दरबाङ, देवीस्थान, मुनालगायतका गाविसका महिला यसतर्फ आर्कषित भएको उहाँले दिनुभयो । जनजाती र दलितको बाहुल्यता भएको ठाउँका महिलाहरु मदिरा उत्पादन गर्ने गर्दछन् । यसले समाजमा दीर्घकालीन असर पारिरहेको उद्यमी सरस्वती सुवेदीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका महिलालाई प्राथमिकतामा राखेर तालिममा सहभागि बनाएकाले गुणस्तरीय उत्पादन गर्न सकेमा मासिक २५ हजारसम्म आम्दानी गर्न सकिने उहाँको भनाई छ ।  गलैंचा उद्योगले जिल्लाभर करिब १ सय महिलालाई सीपमूलक तालिमसहित ३५ जनालाई रोजगारी दिएको जनाएको छ । उद्योगले मासिक तलबस्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । महिला उद्यमीले तानमा बुनेका गलैंचाहरूलाई बजारसम्म पु¥याउन हस्तकला महासंघ, डिमेगा, संगम म्याग्दीलगायतका संघसंस्थाले सघाउन थालेपछि गलैचा व्यवसायमा लाग्ने महिलाको संख्या बढेको छ । 
सीप सिकेका महिलालाई तान, घरमै गलैंचाको धागोलगायत आवश्यक प्राविधिक सहयोग गर्ने गरिएको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । गाउँमा सीप सिकेका महिलाहरु आफ्ना छोराछोरीसहित सदरमुकाम बेनी, गलेश्वर, पर्वत बेनीमा बसेर पेशालाई निरन्तरता दिइरहेका छन् । आफूहरुले उत्पादन गरेको एउटै गलैचाबाट ४ हजारसम्म आम्दानी हुने गरेको उद्यमी दलकुमारी पुनको अनुभव छ । जिल्लामा उत्पादित गलैंचा देशका विभिन्न स्थानका साथै विदेशी मुलुक चीन, इण्डोनेसिया, हङकङ, जापान, मलेसिया बेल्जियमसहित यूरोपका विभिन्न देशमा निर्यात हुन्छ ।

Post a Comment

 
Top