रुकुम, भदाै ३ - रुकुमलाई प्रदेश ५ मा समेट्नुपर्ने भन्दै जिल्लामा आन्दोलन भैरहेको छ । सबैलाई आफनो माग पूरा गर्ने चटारो छ  । तर अविरल वर्षाका कारण जोखिममा परेको वस्तीको बारेमा भने कसैलाई पनि चासो र चिन्ता छैन । बाटोमा खसेको पहिरो र ढुङगा हटाउनु त परको कुरा, आफ्नै घर माथिको भल समेत छेक्न नसक्दा स्थानीयबासिन्दा जोखिममा छन् ।
जोखिम बढ्दै गएपछि नेपाली सेनाको देवीदल गणको टोली बाटोमा खसेको पहिरो हटाउँदै जोखिम वस्तीलाई सुरक्षित ठाउँमा सार्न प्रभावित गाउँ प्रवेश गरेको छ ।  राप्ती राजमार्ग अन्तर्गत मुसिकोट सोलावाङ्ग सडक खण्डमा पहिरो खस्दा आएको ढुङगा हटाउन नसक्दा दुई दिनसम्म यातायात सेवा अवरुद्ध भयोे । कतैबाट बाटो खुलाउने प्रयास समेत भएन ।
  यो खवर सुन्ने बित्तिकै सेनाको टोलीले ढुङगा फुटाएर क्षणभरमा बाटो खुलायो । यी त सदरमुकाम आसपासका कामहरु भए, तर यतिबेला नेपाली सेनाको एउटा टोली पश्चिम घेत्मा गाबिसमा पहिरोको जोखिममा रहेका सयांै घरहरुलाई बचाउने काममा जुटेको छ । 
सोमबार राती पहिरोमा परेर दुई जनाको ज्यान गएपछि वस्तीका अरु बासिन्दालाई सुरक्षित ठाउँमा सार्न सेनाको टोली त्यहाँ पुगेको छ ।  घेत्माका शिक्षक बालराम खड्काले झण्डै दुई दर्जन घरहरु जोखिममा रहेको र नेपाली सेनाले गाउँ माथिको भल छेक्ने काम गरिरहेको बताउनु भयो । ‘झण्डै एक किलोमिटर कुलो बनाएर सेनाले गाउँ बचाएको छ, अब त पहिरो जाँदैनन कि’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार घेत्मा सेनाले त्रिपाल तथा अन्य खाद्यान्न सामग्री समेत वितरण गरेको छ । यस्तै जिल्लाको भलाक्चा, रुघा लगायतका गाबिसका विद्यालयहरुमा पनि पहिरो हटाएर खेलमैदानहरु निर्माण गरिएको सेनाले जनाएको छ ।  पानीमा भिज्दै नागरिकलाई राहत होस भनेर सेनाले काम गरिरहेको घेत्माका बासिन्दा भिमबहादुर थापाले बताउनु भयो । सेनाको कामले राज्यको आर्थिक लगानी पनि बचेको थापाले बताउनु भयो ।  जिल्लाका ४१ गाबिसमा कहा कतिबेला प्राकृतिक विपद् हुन सक्छ भनेर  सेनाले बेला बेला सुचना समेत संकलन गरिरहेको हुन्छ । गएको दुई महिनामा १० लाख रुपैंया बराबरको श्रमदान गरेर जिल्लाका विभिन्न स्थानमा सेनाले भौतिक संरचनाहरु समेत निर्माण गरेको छ ।  जिल्लाको चौखावाङ, स्यालापखा लगायतका केही गाबिसहरु पहिरोको उच्च जोखिममा रहेकाले उच्च सतर्कता अपनाइएको देवीदल गणका गणपति डम्बर बहादुर दर्लामीले जानकारी दिनु भयो । विद्यालयको खेलमैदान, बाटो, मन्दिर निर्माण जस्ता कामहरुमा नागरिकले सहयोग मागेको गणपति दर्लामीले बताउनु भयो ।

Post a Comment

 
Top