काठमाडौं, साउन ३० - राउटे भन्ने बित्तिकै जंगल जंगल चहार्दै हिँड्ने, झुत्रा झाम्रा लुगा लगाउने, बर्षमा एक पटक भन्दा बढी ननुहाउने मान्छेको प्रतिबिम्ब धेरैको आँखामा आउँछ । राउटेले पनि अन्य मानिसकै जीवनशैली अपनाएका, घर बनाएर बसेका र सरकारी जागीर खाएका कुरा तपाईं हामीमध्ये धेरैको कल्पना भन्दा निकै परको कुरा हुनसक्छ । तर सुर्खेत, दैलेख र अछाम जिल्लाको आसपास फिरन्ते जीवन विताउने राउटे बाहेक अन्य राउटे राष्ट्रको सुरक्षा निकाय, शिक्षण संस्था लगायतमा समेत पुगिसकेका छन् । 
नेपाल राउटे विकास संघका केन्द्रीय अध्यक्ष दानसिं राउटेका अनुसार राउटे समुदायका एक जना महिला नेपाली सेनामा कार्यरत छिन् । यस्तै एकजना राउटे महिला र अर्का पुरुष प्रहरीमा कार्यरत छन् भने अर्का दुई जना महिला बाल विकासमा पढाईरहेका छन् । विद्यालय तहमा झण्डै सयको हाराहारीमा राउटे बालबालिका अध्ययनरत छन् । 
२०४० सालअघि अहिलेको सुर्खेत, दैलेख र अछाममा घुमिरहेका राउटे झैं डडेलधुराका राउटे पनि फिरन्ते जीवनमै थिए । उनीहरु पनि बाँदरकै शिकार गर्थे र भेषभुषा पनि उस्तै थिए । तत्कालीन राजा बीरेन्द्रले २०४० सालमा एक परिवार बराबर डेढ विगाहा जमिन उपलब्ध गराउदै राउटेहरुलाई जंगल छोड्न लगाए । तत्कालीन राउटेका ४५ घर डडेलधुराको जोगबूढा र ४० घर रजौटामा बसिरहेका छन् । उनीहरु अन्य जातिले झैं खेतीपाती गर्छन् र बूढापाका भने अझै पनि काठका सामान बनाउँछन् । 
नेपाल राउटे विकास संघका केन्द्रीय अध्यक्ष दानसिं राउटे सम्झिनुहुन्छ ‘त्यसबेला हाम्रा बाजेहरुलाई  जबरजस्ती जग्गा भिडाएर राखेका थिए रे ! बस्न नमान्नेहरु चाहिं त्यसबेलै भारततिर भागेका थिए रे, अहिले पनि उतै भारततिरै फिरन्ते जीवन बिताइरहेका छन् भन्ने सुनेको छु ।’ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले राउटे जातिलाई लोपोन्मुख आदिवासी जनजातिको मान्यता दिएपछि २०६२ सालमा नेपाल राउटे विकास संघ गठन गरिएको अध्यक्ष दानसिं राउटेले बताउनुभयो । 
‘अहिले हामी राउटेको विकास, भाषा संस्कृति र संस्कारको संरक्षणमा जुटेका छौं ।’ अध्यक्ष राउटेले भन्नुभयो । २०४० सालमै जंगलको बास त्यागेका डडेलधुराका राउटेले भाषा बोलेपनि भेषभुषा हराएको उहाँले बताउनुभयो । तर अहिले पनि जंगलको राजा ठान्ने राउटेले भने डडेलधुराका राउटे विकसित राउटे जाति भएको र खाँटी राउटे आफूहरु मात्र भएको दावी गर्छन् ।

Post a Comment

 
Top