म्याग्दी, साउन २८ – कृषि र पशुपालनको
सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीका युवाहरु व्यवसायिक तरकारी
खेतीतर्फ आकर्षित भएका छन् । धेरै धन कमाउने आशमा लामो समयसम्म विदेशमा
बसेपनि सोचेजस्तो कमाई हुन नसकेपछि अहिले उनीहरु स्वदेशमै फर्किएर विभिन्न
पेशा र व्यवसायमा लागेका हुन् ।
पछिल्लो समय म्याग्दीका युवाहरुले
व्यावसायिक तरकारी खेती शुरु गरेका छन् । विदेश जाने निहुँमा वर्षौंसम्म
धेरै प्रयास गर्दा पनि त्यो सफल नभएपछि र विदेश गएर पनि राम्रो कमाई गर्न
नसकेपछि गाउँमै फर्किएर तरकारी खेती शुरु गरेको युवाहरु बताउँछन् । विभिन्न
सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोग पाएपछि आफूहरु व्यावसायिक बन्ने
उद्देश्यले तरकारी खेतीमा लागेको उनीहरुको भनाई छ । माल्दिभ्स,
साउदी र दुबईमा ७ वर्षसम्म विदेश बस्दा पनि सोचेजस्तो कमाई नभएपछि गाउँ
फर्किएर व्यवसायिक तरकारी खेती शुरु गरेको बेनी नगरपालिका ३ ज्यामरुककोटका
चन्द्रबहादुर घिमिरेले बताउनुभयो । झण्डै २ लाख रुपैंयाको लगानीमा मौसमी
तथा बैमौसमी तरकारी लगाएका किसान घिमिरेले वार्षिक ४ लाख रुपैयाँ भन्दाबढी
आम्दानी हुने गरेको बताउनुभयो । उहाँले आफ्नै १ रोपनी क्षेत्रफलको जग्गामा
बन्दा, बोडी, काँक्रो, सिमीलगायतका तरकारी लगाउनुभएको छ । करेसाबारीबाटै
तरकारी बिक्री गर्दै आएको भन्दै युवा कृषक घिमिरेले बन्दा किलोको ३५, बोडी,
काँक्रो र सिमीलाई ६० रुपैयाँसम्म बिक्री गरेको बताउनुभयो ।
त्यसैगरी नारच्याङ–८ का खिमबहादुर
तिलिजाको पनि उस्तै अनुभव छ । विदेश जाने लहलहैमा १५ महिनामै जापानबाट
फर्किएर अन्य देश जाने तयारी गरेपनि तिलिजाले त्यो सफल नभएपछि तरकारी खेती
शुरु गर्नुभएको हो । उहाँले व्यक्तिगत र सामूहिक रुपमा आलु, गोलभेंडा,
बन्दा, काउली, भटमासजातका तरकारी लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार
विगत ३ वर्षअघि शुरुमा ५० हजार रुपैयाँबाट तरकारी खेती शुरु गरेकोमा हाल
वार्षिक करिब ३ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । नारच्याङमा उत्पादित
आलु १२५ र गोलभेंडा ६० रुपैयाँ केजीमा गाउँ तथा शहर बजारमा बिक्रीवितरण
हुँदै आएको छ । त्यस्तै
लाखौं रकम खर्च गरेर विदेश पुगेपनि राम्रो कमाई नभएपछि बेगखोला–६ का युवा
टकबहादुर पूर्जा पनि स्वदेश फर्किएर गाउँमै व्यावसायिक तरकारी, फलफूल र
पशुपालन शुरु गरेको बताउनुहुन्छ । उहाँले झण्डै २ लाख रुपैंयाको लगानीमा २
वटा टनेलमा गोलभेंडा खेती गर्नुभएको छ ५ रोपनीभन्दा बढी जमिनमा तरकारी
लगाउनुभएको छ । बोटबाटै प्रतिकेजी गोलभेंडा ६० रुपैयाँ, काउली ७०, सिमी ५० र
बन्दा ३० रुपैयाँ केजीमा बिक्रीवितरण गर्दै आएको उहाँको अनुभव छ । तरकारी,
सुन्तला कागती र केराजातका फलफूलबाट मात्रै वार्षिक ३ लाखबढी आम्दानी
गर्ने गरेको उहाँले बताउनुभयो ।
युवाहरुले उत्पादन गरेको तरकारी स्थानीय
गाउँ तथा जिल्लाको भूरुङ–तातोपानी, तिप्ल्याङ, गलेश्वर, सदरमुकाम
बेनीबजारमा खपत हुँदै आइरहेको छ । अधिकांश तरकारी जिल्लाभित्रै खपत हुने
गरेपनि उत्तरी भेगको तरकारी हिमाली जिल्ला मुस्ताङसम्म पुग्ने गरेको छ ।
गाउँमै कम्पोष्ट मलको प्रयोग गरी उत्पादन गरिएका अग्र्यानिक तरकारी
स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । स्वदेशमा
काम पाइएन भन्दै लाखौं रकम खर्चेर विदेश जाने युवाहरुलाई यही बसेर केही
गर्न सकिन्छ भन्ने उदाहरण दिन आफूहरु व्यवसायिक तरकारीमा लागेको युवा
चन्द्र घिमिरेले बताउनुभयो । गाउँमै बसेर आफ्नै घरपरिवारसँगै काम गर्दा
आनन्द लाग्नुका साथै यस्ता गतिविधिले देशको आर्थिक विकासमा समेत सहयोग
पुग्ने ती युवाको भनाई छ ।
घिमिरे, तिलिजा र पूर्जाजस्तै विदेशको
सपना देखेर वर्षौंसम्म भौंतारिएका तर, भनेजस्तो कमाई नभएपछि स्वदेशमै
फर्केर व्यावसायिक कृषक बन्नेहरुको संख्या बढ्दै गएको छ । जिल्ला कृषि
विकास कार्यालय म्याग्दीका अनुसार यसरी तरकारी खेतीमा लाग्ने कृषकहरु
म्याग्दीमा ६० जना रहेका छन् भने उनीहरु अग्र्यानिक खेती उत्पादन गरी
जिल्लालाई नै तरकारी खेतीको पकेट क्षेत्र बनाउने तयारीमा छन् ।
Post a Comment