११ असोज, सप्तरी । तराई/मधेसमा जारी आन्दोलनले सोमबार ठ्याक्कै डेढ महिना पूरा गरेको छ । साउन ३० गतेदेखि शुरु भएको आन्दोलनको प्रारम्भमा धेरै मानिसहरु गोलीको शिकार भए । मधेसमा रुवावासी र कोलाहल भयो । अहिलेचाँहि आन्दोलनकारी हँसाउन थालेका छन् । यस्तो लाग्दैछ, मधेस आन्दोलनमा हास्य रस प्रवेश गरेको छ ।
Sadepar
विरोध जुलुस प्रदर्शनबाट शुरु भएको आन्दोलनले विभिन्न चरण पार गरेको छ । विरोध जुलुससँगै राजमार्ग अवरुद्व, मसाल जुलुस प्रदर्शन, सडकमा अवरोध, कार्यालय तथा सवारी साधनमा तोडफोड र आगजनीका साथै बिभिन्न किसिमको आन्दोलन हुँदै आयो ।
मधेसमा बिरोध जुलुस, मसाल जुलुस त सामान्य भइ नै हाल्यो, जुनसुकै आन्दोलनको पहिलो चरणमा यी गतिविधि अपनाइन्छन् । तर जारी आन्दोलन डेढ महिनासम्म आइपुग्दा सामान्य मात्रै होइन, अनौठो र रोचक पनि बन्न थालेको छ ।
दैनिक बिरोध र्‍याली, सभा तथा कोणसभाहरु हुनु स्वभाविकै हो । तर, अनौठो आन्दोलनले बिरोध मात्र होइन्, आम सर्वसाधारणलाई हसाउँने किसिमको समेत गरिएको पाइएको छ ।
हसाउँने किसिमको भए पनि त्योभित्र आन्दोलनकारीको आक्रोश देखिन्छ । शुरुमा मुख्य तीन दलका नेतामाथि आक्रोश पोखेका आन्दोलनकारी अहिले आएर आफ्ना जिल्लाका सभासदहरुबिरुद्व पनि आक्रोश पोख्न शुरु गरेका छन् । ‘आफूहरु आन्दोलनमा रहँदा पनि आफूहरुको मर्म नै नबुझिकन संविधानमा हस्ताक्षर गरेको’ भन्दै सभासदविरुद्व पनि आन्दोलन थालिएको छ । जारी आन्दोलनका क्रममा भएका केही अनौठा दृश्य यस्ता छन् ।
भैंसीलाई पनि सडकमा उतारियो
Bainsi Julus At Satpari
आन्दोलन लम्बिदैँ जाँदा बिभिन्न किसिमको बिरोधी गतिविधि गर्ने क्रममा असोज ७ गते सिराहा सदरमुकाम सिरहामा भैंसी जुलुस प्रदर्शन गरियो ।
सिटी जुलुस, धोती जुलुस, पुत्ला दहन, सांस्कृतिक जुलुस, कालो दिन, कुकुर जुलुस गर्दै सिराहामा भैंसी जुलुस प्रदर्शन गरिएको हो । भैंसीको सिङमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकलम दाहाल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र गृहमन्त्री बामदेव गौतमको ट्याग बनाएर भुण्ड्याइएको थियो ।
लामो समयदेखि जारी बन्दले जनजीवन आक्रान्त बन्दै गए पनि प्रमुख तीन दलका शीर्ष नेताहरुले आन्दोलन र माग सम्बोधन गर्न अझैं अग्रसर नभएको भन्दै व्यंग्यात्मक रुपमा भैंसी जुलुस प्रर्दशन गरिएको आन्दालनकारी बताउँछन् ।
गधा जुलुस
Gadha Julus At Satpari
आन्दोलन गरे पनि एकतर्फी रुपमै संविधान जारी गरिएपछि नेताहरुलाई गधासँग तुलना गर्दै आन्दोलनको गतिविधि गरिँदैछ । गधाको शरीरमा यी चार नेताको फोटो टाँगेर गधालाई नगर परिक्रमा गराएर प्रदर्शनहरु गरिएको छ । सप्तरी सदरमुकाम राजविराजसहित कञ्चनपुर नगरपालिका तथा सिरहा सदरमुकाममा पनि गधा जुलुस प्रदर्शन भएको छ ।
हामी ओली-प्रचण्ड, तिमी मधेसी
असोज ७ गते सप्तरीको बोदे बर्साइनमा अर्को अनौठो दृश्य देखियो । संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको बिरोधसभाको बीचमा चारजना बालबालिका एक ठाउँमा बसेका थिए । एकजना बालक केपी ओलीको भूमिकामा थिए भने अर्का बालक प्रचण्डको भूमिकामा । उनीहरुकै बीचमा एकजना बालक मधेसीको भूमिकामा थिए भने एकजना चाँहि प्रहरीको भूमिकामा ।
Dummy kp oli and Prachanda
ओली र प्रचण्डको भूमिकामा रहेका बालकहरु छेउमा बसेका थिए भने दुबैको बीचमा बस्ने मधेसी भूमिकाका बालकलाई प्रहरी भूमिकाको बालकले बन्दुक तेस्र्ययाएका थिए ।
बिरोधसभामा सहभागी भएकाहरु नेताको भाषण सुन्न भन्दा पनि बालकहरुको यो भूमिका हेर्नेतर्फ ध्यान केन्दि्रत गरेका थिए । स्थानीय सच्चिदानन्द चौधरी केपी ओली, प्रचण्ड र सुशील कोइरालाले नै मधेसी समुदायलाई अधिकार दिन नचाहेको भाव बालबालिकासम्मले थाहा पाएर बोल्न र सुनाउन थालेको बताए ।
सडकमै फाँसी
Dummy Fasi
राजविराज-भारदह सडक खण्ड अन्तर्गत सप्तरीको बिभिन्न ठाउँमा सडकमै चार नेताका पुत्ला झुण्डयाइएको छ । सडकको एकातिर रहेको विद्युतीय पोलसँग जोडेर अर्काेतिर बाँस हालेर बीचमै चारवटा पुत्ला झुण्डयाइएको छ । यी पुत्लाबारे स्थानीय बासिन्दाका साथै आन्दोलनकारीको भनाइ छ, ‘तीन दलका चार नेतालाई फाँसी दिइएको छ ।’
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता तथा गृहमन्त्री बामदेव गौतमको पुत्ला बनाएर सडकमै टाँगिएको छ ।
जिल्लाको तोपा, सडेपारसहित पूर्व-पश्चिम राजमार्गको खरचुहियामा पनि चार नेताको पुत्ला बनाएर फाँसी दिइएको छ । बभनगामाकट्टी गाविसको सडेपारमा चार नेताको पुत्ला बनाएर फाँसी दिने बिरोध कार्यक्रममा कांग्रेस, एमालेकै कार्यकर्ताहरुको पनि सहभागिता देखियो ।
राजविराजको जनआन्दोलन चोकमा पनि यी चार नेताको पुत्ला बनाएर फाँसी दिइएको छ ।
पुलको बोर्ड सडकमा
Mahuli Pul
कुन पुल हो भनेर जानकारी दिइएको बोर्ड समेत उखेलेर आन्दोलनकारीले आन्दोलनको गतिविधि बनाएका छन् । पूर्व-पश्चिम राजमार्गका सडकहरुमा भएको बिभिन्न पुलको नामसहित उसको लम्बाइबारे जानकारी दिन पुल छेउमै गाडिएको बोर्ड उखेलेर आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।
सडक जाम गर्ने हेतुले सप्तरीको महुली र सुन्दरी पुलको बोर्ड उखेलेर सडकमा राखिए पनि अहिले सुरक्षाकर्मीले हटाइसकेका छन् ।

Post a Comment

 
Top