ओखलढुंगा, साउन १६ – पहिरोको जोखिममा रहेका ओखलढुंगाका ६ वटा वस्तीलाई सुरक्षित स्थानमा सारिएको छ । बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले चर्किएका बस्तीमाथिका पहाड वर्षातमा खस्न सक्ने उच्च जोखिममा रहेका ६ वटा बस्ती स्थानान्तरण गरिएको हो । 
ओखलढुंगाका विभिन्न गाविसका ६ वटा असुरक्षित बस्तीलाई सुरक्षित स्थानान्तरण गरिएको छ । गत बैशाख १२ गतेको भुकम्प र त्यसपछिका परकम्पबाट जोखिममा परेका ओखलढुंगाका १९ गाविसका २९ वटा बस्ती पहिरोको जोखिममा रहे पनि पहिलो पटक उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नगेन्द्र पौडेलले जानकारी दिनुभयो । 
बिलन्दु गाविसको वडा नं. ३ का ५८ परिवारका १ सय ६१ जनालाई बिलन्दू ३ कै दलीडाँडा, प्राप्चा गाविस वडा नं. ३ का २० घरपरिवाका १ सय ५ जनालाई प्राप्चा ३ कै देउरालीमा स्थानान्तरण गरिएको छ  । 
हर्कपुर गाविस वडा नं. ९ का २८ घरपरिवारका १ सय ८ जनालाई हर्कपुर ५ मा, गाम्नाङ्घटार गाविस वडा नं. १४ परिवारका ७४ जनालाई वडा नं. ५ कात्तिके सिद्धडाँडामा, टारकेराबारीका १७ परिवारलाई मझुवामा स्थानान्तरण गरिएको छ । 
खिजीचण्डेश्वरी गाविस माझगाउका १८ परिवारलाई पर्से डाँडामा स्थानान्तरण गरिएको छ । अन्य जोखिममा रहेका बस्तीहरु समेत प्रथामिकताका आधारमा सार्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृह मन्त्रालयले असुरक्षित बस्ती सुरक्षित स्थानमा सार्न दिएको निर्देशन अनुसार कार्यालयले बस्ती स्थानान्तरण गरिएको जनाएको छ ।

Post a Comment

 
Top