काठमाडौं, साउन ३० - रत्नपार्कको व्यस्त सडक छेउमा हात हेराउने ज्योतिषी लहरै बसेका छन् । एकजना ज्योतिषीकहाँ हात हेराउनेहरुको निकै घुईंचो छ । त्यहीबेला एकजना मान्छे हतारहतार त्यहाँ पुग्छ । उ निकै आत्तिएको र छटपटाएको देखेर अरुले ठाउँ छोड्दिन्छन् । अनि आत्तिएको त्यो मान्छे हात हेराउन बस्छ । 
तपाईंलाई के भो किन आत्तिएको भनेर ज्योतिषीले सोधेपछि ती मान्छेले आफ्नो व्यथा सुनाउन थाल्छ । 
‘छोरोले जाँडरक्सी खाएर मोटरसाइकल चलाउँदा बिजुलीको पोलमा ठक्कर खाएर घाइते भयो, अस्पतालमा उपचार गराइरहेको छ, मलाई दशा लाग्यो’ उसले भन्छ । ज्योतिषीले उपचार गराउनुहोस् न किन आत्तिएको भनेपछि त्यो मान्छे फेरि भन्छ, ‘माइक्रोबसमा झुण्डिएर कलेज गएकी छोरी पनि लडेर घाइते भई, उ पनि अस्पतालमा छे ।’
उसको व्यथा यति मात्र होइन । हड्बडाउँदै उ फेरि भन्छ, ‘बिहान रत्नपार्कमा तरकारी किन्न गएकी श्रीमती आकाशे पूल मुनी सडकबाटै बाटो काट्दा गाडीले ठक्कर दिएर घाइते बनायो । उ पनि अस्पतालमा छे । मलाई दशा लाग्यो ज्योतिषी बा । म कुन मन्दिर या चर्च जाऔं ? बोका काटौं या कुखुरा ? लौ मेरो दशा कटाइदिनुपर्‍यो ।’
उसको व्यथा सुनेर ज्योतिषीले सानो कागजमा केही लेखे । अनि भने, ‘घर गएर मात्र यो कागज हेर्नु । वरपरका छिमेकीलाई बोलाउनु । धुप अक्षता पनि ठीक पार्नु । अनि सबैको अघिल्तिर कागज खोलेर हेर्नु, त्यसै अनुसार गर्नु ।’
अनि त्यो मान्छे हतार हतार घर पुग्यो । छरछिमेकीलाई बोलायो । अनि कागज खोलेर हेर्‍यो । कागजमा लेखिएको थियो, ‘ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऔं ।’
त्यसपछि उसले बुझ्छ, यो त दशा होइन रहेछ । ट्राफिक नियम उल्लंघन गरेकोले पो दशा भएको रहेछ । अनि उसले श्रीमती, छोरा र छोरीको छिटो उपचार गराएर ट्राफिक नियम पालनामा जोड दिने सोच बनाउँछ । 
ट्राफिक नियमसम्बन्धी जनचेतना बढाउने उदेश्यले तयार हुँदै गरेको भिडियोको कथा हो यो । ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेतुको सिर्जनामा आधारित भएर ट्राफिक जनचेतनामुलक भिडियो मनाउन लागिएको छ । यसअघि हाछेतुकै सिर्जना र अगुवाईमा यस्तै खाले ५ वटा भिडियो तयार भैसकेका छन् । चेतनामुलक यस्ता भिडियो टेलिभिजन र सिनेमा घरहरुमा हेर्न पाइन्छ । 

Post a Comment

 
Top