साउन २७ – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक जोसे मोरिन्हो क्लवको मेडिकल टिमप्रति आक्रोशित भएका छन् । मोरिन्हो कै कारण चेल्सीकी मुख्य डाक्टर इभा कार्नियोरले अब चेल्सी बेञ्च गुमाउनु पर्ने भएको छ ।
प्रिमियर लिगमा स्वान्सीसँगको २–२ को बराबरीमा रोकिएको खेलको अन्तिम समयतिर इडेन हजार्ड लडेपछि डाक्टर इभा र  जोर्न फियान उपचारका लागि मैदान छिरेका थिए । तर उनीहरु मैदान छिर्नु गलत रहेको मोरिन्होको दावी छ । उनले थाकेका कारण लडेका हजार्डलाई मैदान बाहिर निकालेर डाक्टरले चेल्सीलाई ९ खेलाडीमा सिमित गरेको र टिममाथि दवाव श्रृजना गरेको आरोप लगाए । थाइबट कर्टिस ५१ मिनेटमा रातोकार्ड पाउँदै बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित थियो ।
‘म मेरो मेडिकल टिमबाट खुसी छैन ।’ डाक्टर मैदान छिरेलगत्तै आक्रोशित बनेका मोरिन्होले खेल सकिएपछि भने ‘यस्तो बेलामा बेञ्चमा रहेको मेडिकल टिमले खेललाई बुझ्नु पर्छ ।’  मोरिन्होको आक्रोशको शिकार बनेकी डाक्टर इभा सन् २००९ मा चेल्सीमा आवद्ध भएकी थिइन् । अब उनी अभ्यास र खेलका क्रममा मात्रै चेल्सीको बेञ्चमा नरहने मोरिन्होले बताएका छन् । तर क्लबले भने यसबारेमा अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top