तेह्रथुम, भदौ ३१ – पर्यटन तथा धार्मिक हिसावले महत्वपूर्ण स्थल मार्गा पोखरी प्रचार प्रसार र संरक्षणको अभावले ओझेलमा परेको छ । 

तेह्रथुम र धनकुटाका केही गाविसबीच पर्ने मार्गा पोखरी छथर क्षेत्रकै उत्कृष्ट पर्यटकीय स्थलकोे सम्भावना भएर पनि संरक्षण नहुँदा वर्षेनि सुक्दै गएको हो । गत वर्ष भन्दा यसवर्ष वर्षामा पनि पानीको मात्रा घटेको स्थानीयबासिन्दाले बताएका छन् । तेह्रथुम र धनकुटाको सीमावर्ती गाविस आङ्दिममा रहेको यो पोखरीको विकासका लागि  स्थानीयबासिन्दा प्रयास गरिरहे पनि सरकारी निकायबाट कुनै काम नहुँदा पोखरीको उचित विकास नभएको यस क्षेत्रको पर्यटन विकासमा क्रियाशील सन्तोष तिगेलाले बताउनुभयो । 
‘मार्गा पोखरीको धार्मिक र पर्यटकीय सम्भावना प्रशस्त छ’, तिगेलाले भन्नुभयो, ‘तर यसको विकासमा अहिलेसम्म कुनै पहल नहुनु दुःखको कुरा हो । सरकारी निकायहरुले पनि यसमा लगानीको प्रयत्न गरेकै हुन्, तर त्यसमा उचित काम नहुनुको कारण पोखरी दुई जिल्लाको बीचमा हुनु पनि हो ।’ 
धनकुटा र तेह्रथुमको बिचमा रहेको मार्गा पोखरीको विकासका लागि जिल्ला विकास समिति तेह्रथुमले छथरको शुक्रबारेमा बसेर पन्चवर्षीय योजना बनाएको थियो । तर त्यो योजना कार्यान्वयन भएन । कारण थियो पोखरीको संरक्षण गरेपछि त्यसको लाभ भने तेह्रथुम भन्दा धनकुटाका बासिन्दाले बढी लिन्छन् । दुई जिल्लाको बीचमा भएकै कारण पोखरीको धार्मिक महत्व र पर्यटकीय सम्भावना मरेर गएको स्थानीयबासिन्दाको धारणा छ । 
सरकारी निकायले चासो नदिँदा पर्यटकीय स्थलहरुको विकास हुन नसकेको भन्दै छथरका युवाहरुले पनि पटक पटक मेला र महोत्सवबाट यी स्थलहरुको प्रचारप्रसारको प्रयास गरेका छन् । 
छथर क्षेत्रकै पर्यटकीय स्थलहरुको विकास गर्न छथर महोत्सवका नामले चार पटक महोत्सवहरु गरिएका छन् । तर त्यसबाट यी क्षेत्रको पर्याप्त विकास नभएको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष उदयदीप सम्बाहाम्फेले बताउनुभयो । मार्गा पोखरी सँगै यहाँका अन्य सम्भावित स्थलहरुको बारेमा पनि पटक पटक सम्वन्धित पक्षको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको उहाँले गुनासो छ । 
धार्मिक हिसावले पनि यो क्षेत्र महत्वपुर्ण छ, स्थानीय छिरिङ शेर्पाले भन्नुभयो ‘यहाँका स्थानीयबासिन्दा सँगै पूर्वका बिभिन्न बजार र भारतबाटसमेत मार्गा पोखरीमा पूजा र स्नान गर्न आउँछन् ।’ हरेक वर्षको भाद्र पूर्णिमाको अवसरमा यहाँ पूजा र मेला सँगै विजुवाहरु गुफासमेत बस्ने गरेको शेर्पाले बताउनुभयो ।
पोखरीको सरसफाई र सामान्य बाराघेराको काम भने पोखरी नजिकको डंगडंगे बस्तीका बासिन्दाले गर्दै आएका छन् । खास गरी भारतको विहार प्रदेशबाट नजिकको दुरीमा रहेको यो क्षेत्रको पर्यटकीय विकास गर्न सके नेपालकोे नया“ पर्यकटीय गन्तव्य हुनेछ ।

Post a Comment

 
Top