साउन २४ – खोटाङको दिक्तेलमा होजियारी उद्योगसँगै चलिरहेको छ, हैकम सिंह राईको परिवार । उद्योग चलाउने अभिभारा भन्दा पनि ठूलो चिन्ता अनुहारमा देखिन्छ यी ६८ 

वर्षे बृद्धको । कारण हो नाती नातिना पाल्ने जिम्मेवारी । 
उहाँसँग अहिले छोरीका तीनजना सन्तान अर्थात नातीनातिना छन् । तर छोरी शान्तिको ६ वर्षदेखि अत्तोपत्तो छैन ।
हैकम सिंहका तीनजना सन्तानमा दुई छोरा र एक छोरी छन् । त्यसैले एउटी छोरीलाई राम्रैसँग पढाउँला भन्ने सोच थियो उहाँको । तर छोरीले आफैं बिहे गर्दा कता कता नरइमाइलो लाग्यो । तर चलेको चलन भन्दै उहाँले चित्त बुझाउनुभयो ।
छोरीका पनि तीन जना सन्तान भए । एउटी छोरी, दुई छोरा । छोरीको दिनचर्या राम्रै थियो । तर अचानक शान्तिको जेठो छोरोको मुटुमा समस्या देखियो ।
छोराको उपचारका लागि खर्च जुटाउन भन्दै शान्तिका श्रीमान बहराइन जानुभयो । शान्ति पनि काठमाडौं बस्न थाल्नुभयो ।  ६ वर्ष बसेर शान्तिका श्रीमान नेपाल फर्किनुभयो र फेरि मलेसिया जानुभयो ।
मलेसियाको कमाई बहराइनको जस्तो भएन । त्यसैले हैकम सिंहले छोरी शान्तिलाई घरमै अर्थात खोटाङमै बोलाउनुभयो । २०६७ साल जेठमा खोटाङ गएकी शान्ति ५ महिनापछि काठमाडौंमा सामान छुटेको छ लिएर आउँछु भन्दै हिँड्नुभयो तर फर्किनुभएन । ‘मेरो केही सामान काठमाडौंमा छ भनेर हिँडेकी छोरी कुवेत गएकोे खवर आयो’ छोरी वेपत्ता हुनुको कारण खुलाउँदै उहाँ भन्नुहुन्छ ‘त्यसको एघार महिनासम्म त सम्पर्क भइरेको थियो तर त्यसपछि कुनै अत्तोपत्ता छैन ।’ 
उहाँलाई छोरी बाम्राङकी अस्मिता कार्की, नरमाया राई हुँदै स्याङबो शेर्पामार्फत भारतको बाटो हुँदै कुवेत पुगेको थाहा छ । ‘तलव नेपाली १० हजार हुन्छ भनेकी थिईन अनि  चालिस हजार रुपैयाँ  पठाइन पनि ।’  छोरीसँगको अन्तिम सम्पर्क सम्झिँदै हैकम सिंहले सुनाउनुभयो, ‘अन्तिम सम्पर्कमा काम गाह्रो छ अनि मेरो तलब पनि बाँकी नै छ भनेकी थिई ।’ तर त्यसपछि न शान्तिले नै फोनगर्नुभयो न त परिवारले फोन गर्दा नै लाग्छ । अहिले शान्तिकी छोरीले पनि आफैं बिहे गरिसकिन । एकजना छोरा विरामी छन । एक जना सात कक्षामा पढिरहेका छन । नातिले हजुरबुवालाई सोधिरहने एउटै प्रश्न छ ‘बाजे आमा कहिले आउनुहुन्छ ?’ छोरीको खोजीमा भौंतारिरहेका हैकमसिंहले सुरक्षित आप्रवासन परियोजना (सामी)को सूचना तथा परामर्श केन्द्रमा निवेदन दिनुभयो । तर छोरीलाई विदेश पठाउने एजेण्ट  श्याङवो शेर्पाको  पत्तो लागेन । 
‘छोरीको केही पत्ता लागिहाल्छ की भन्दै म सुचना केन्द्र धाईरहेकोछु तर खास प्रगति भएको छैन ।’ उहाँले आशा सुनाउनुभयो ‘एजेन्टको पत्तो लगाउन सके छोरीको पत्ता लाग्थ्यो की ।’ नेपालदेखि कुवेतमा रहेको राजदुतावासले पहल गर्दा साहुले अफिसमा बुझाएकोसम्म पत्ता लाग्यो । तर एजेन्ट पत्ता लागेन । उहाँलाई छोरी राम्रैसँग काम गर्दैछिन भनेको सुन्ने इच्छा छ । त्यति भन्दा भन्दै उहाँको मुखबाट निस्कियो ‘तर मलाई एउटै चिन्ताले सताईरहेको छ । मर्नुभन्दा पहिले छोरीसँग भेट होला की नहोला ।’
http://ujyaaloonline.com/

Post a Comment

 
Top