काठमाडौं, भदौ २६ - आन्दोलनरत दलहरुसँग वार्ताको वातावरण बनाउन भन्दै शनिबार बिहान बिभिन्न नेताहरुसँग टेलिफोन वार्ता गरेका एमाओवादी नेता डा. बाबुराम भट्टराईले संविधानसभामा मतदान प्रक्रिया अझै लम्बिने संकेत गर्नुभएको छ ।
दुई दिन प्रक्रिया रोक्दा समेत आन्दोलनरत मधेसी दल वार्तामा नआएपछि उहाँले प्रक्रिया केही दिन लम्बिँदा फरक नपर्ने टिप्पणी गर्नुभएको हो । ‘वार्ताको वातावरण बनाऔं, संवादबाटै समाधान खोजौं’ भट्टराईले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, ‘दुई चारदिन ढिलो छिटोले कुनै आकाश खस्दैन ।’
उहाँले फेसबुकमार्फत व्यक्त गर्नुभएको विचार यस्तो छ :
सुगौली-सन्धीको यो २०० औं बर्ष हो ! आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको शायद फैसला गर्नेछ !
'नेपाल' भनेको हिमाल, पहाड, तराईमा वसोवास गर्ने विविध वर्ग/जाति/लिंग/भाषा/धर्म/संस्कृति/पेशाका जनताको अनेकता वीचको एकताको सामूहिक अभिव्यक्ति/पहिचान हो।एउटा जाति/क्षेत्र/समुदायले मात्र आफूलाई 'नेपाली' र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सक्दैन!
नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने विर्सेर वा वुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र/ जिल्ला/अंचल/विकास क्षेत्रलाई 'अखण्ड' राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ!
सार्वभौम संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान छिटो जारी गर्नुपर्छ र कुनै पनि वहानामा यो संसलाई असफल पार्ने दुष्प्रयत्नलाई परास्त गर्नैपर्छ ! यसमा कुनै विवाद छैन र हुनुहुँदैन!
तर देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्व/अपनत्व रहेको संविधान निर्माण गर्न २/४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाइनुहुन्न!
खाशगरी पूर्वदेखि पश्चिमसम्मको तराई/ मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई संवोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन!राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन!
त्यसैले आजै वार्तामा बस्ने वातावरण बनाऊँ! संवाद बाटै समाधान खोजौं! देशको अखण्डतालाई धरापमा नपारौं! २/४ दिन ढिलोछिटोले कुनै आकाश खस्दैन!!

Post a Comment

 
Top