दोलखा, साउन १० – बाढीले पुल बगाएपछि दोलखा चरिकोटका स्थानियबासिन्दाको दैनिकी प्रभावित भएको छ । शनिबार दिउँसोदेखि परेको झरीका कारण दोलखा भिमेश्वर नगरपालिका र बोच गाविस जोड्ने चरंगेखोलाको पुल बगाएपछि काठमाडौंसँगको सडकसम्बन्ध नै बिच्छेद भएको छ ।
खोलामाथिको पुल बगाएपछि काठमाडौंबाट दोलखा सदरमुकाम चरिकोट हुँदै रामेछाप, सोलुखुम्बु र ओखलढुंगा पुग्ने गाडी र त्यताबाट काठमाडौं छुट्ने गाडी अलपत्र परेका छन् । पुल बगाएपछि समस्यामा परेका स्थानीयबासिन्दाले तत्काल बेलिब्रिज हालेर यातायात खुलाउन माग गरेका छन् ।
यस्तै वैशाख १२ गतेको भूकम्पका पछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी सडकखण्ड अझै खुल्न सकेको छैन । झरी पर्नु अघि सुख्खा पहिरो खसेको त्यस क्षेत्रमा अहिले लेदो माटो बग्न थालेको प्रहरीले जनाएको छ । पोहोर पहिरो खसेको सिन्धुपाल्चोकको जुरे–बाह«बिसे सडकखण्डमा पनि झरी परेपछि गाडी चलाउन समस्या हुने गरेको छ ।
प्रहरीका अनुसार पहिरो खसेको ठाउँबाट लेदो माटो बग्ने गरेको र गाडी चिप्लने समस्याका कारण आवागमन प्रभावित हुने गरेको छ । यस्तै बाँकेको महादेवपुरी ७ शम्सेरगन्जमा बाढीका कराण यातायात सञ्चालनमा समस्या परेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top