पर्वत, साउन २७ - पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारस्थित खत्रीटोलकी ९ महिने बालिकाको चर्चमा राखिएको अवस्थामा रहस्यमय रुपमा ज्यान गएको छ ।
कुश्मा नगरपालिका ९ मा रहेको प्रभु यशु मण्डली चर्चमा कुश्माकै शंकर नेपाली र बसन्ती नेपालीकी ९ महिनाकी छोरी स्तर नेपालीको रहस्यमय तरिकाले ज्यान गएको हो ।मृतककी आमा बसन्तीले सोमवार विहान साढे ११ बजे खाना ख्वाएर सुताएकी छोरी दिउँसो चार बजे बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगेकोमा अस्पतालले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो ।
प्रभु यशु मण्डली चर्चमा लगेर बच्चालाई सुताएर आमा बसन्ती चर्चकै कामले बजार निस्किएकी थिईन । अबेरसम्म बच्चा नउठेपछि चर्चकै राम लिम्वु र लक्ष्मी गुरुङलगायतले बच्चा वेहोस अवस्थामा रहेको भन्दै उपचारका लागि अस्पताल लैजाँदा अस्पतालले मृतक घोषणा गरेको चर्चाका सहयोगी रामु लिम्वुले जानकारी दिनुभयो ।
मृतक बालिकाका बाबुआमाले उसको मृत्यु स्वभाविक भएको भनिएपनि बालिकाका जेठा बाबु शालिक नेपालीले चर्चका संचालकहरुबाट मारिएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको छ । बालिकाकी आमा बसन्ती सोहि चर्चमा कार्यरत छिन् भने उनका बाबु शंकर साप्ताहिक रुपमा चर्चमा जाने गर्नुभएको छ । स्वस्थ्य बच्चालाई आमाले लगेर चर्चमा छाडेको र बालिकाको रहस्यमय मृत्यु भएकोले छानविन गर्न उजुरीमा माग गरिएको छ ।
मृतक बालिकाका अरु आफन्तहरुले बालिकाको मृत्यु नभै हत्या भएको भन्दै चर्च र जिल्ला अस्पतालमा समेत प्रदर्शन गर्दै दोषीलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् ।आमाबाबुले बालिकाको मृत्यु मृत्यु स्वभाविक भनेको तर आफन्तहरुले हत्याको आशंका गरी उजुरी दिएकाले अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले बालिकाको पोष्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान प्रकृया अघि बढाइने बताउनुभयो । मृतक बालिकाको पर्वत जिल्ला अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टि गरिएको छ ।
Post a Comment