काठमाडौं, असोज ८ – एमाले सांसद कमलादेवी महतोलाई यसअघि धेरै कम मान्छेले मात्र चिन्थे । उहाँले संविधानसभा र व्यवस्थापिका संसद बैठकमा बोलेका कुराको पनि उति चर्चा हुँदैनथियो । 

पहिले धेरैले नचिन्ने सांसद महतोको एकाएक चर्चा हुन थालेको छ । आफ्नै घर जलाइदिने मान्छेलाई फलफूल र हर्लिक्स सहित भेट्न अस्पताल पुगेको कुरा सुनेपछि उहाँको चर्चा हुन थालेको हो । सामाजिक सञ्जालमा धेरैले उहाँले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् । उहाँलाई सिधै फोन गरेर पनि धेरैले बधाई दिएका छन् ।
‘मैले चर्चा बटुल्नको लागि नभएर मेरै छिमेकका र चुनाव क्षेत्रका भाइहरु भएकाले भेट्न गएको हो’ महतोले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘मिडियामा आएछ, मलाई त थाहै थिएन, धेरैले राम्रो काम गर्नुभयो भनेर प्रशंसा गर्नुभयो ।’ तराई–मधेसमा भैरहेको आन्दोलनका क्रममा सांसद महतोको सर्लाही मलंगवामा रहेको घरमा आगजनी भयो । उहाँको घरमा आगो लगाएर भाग्दै गरेका विक्रम राय र रुपेश पासवान घाइते भए । रायलाई गोली लागेको छ भने पासवान लडेर घाइते भएका हुन् । घाइते दुवैजनाको वीर अस्पतालमा उपचार भैरहेको छ । 
‘राय मेरै छिमेकी समेत भएको र पासवान पनि मेरो निर्वाचन क्षेत्रका भएकाले घाइते भएको सुन्ने बित्तिकै भेट्न अस्पताल गएको हो’ सांसद महतोले भन्नुभयो, ‘घर जलाउँदा दुःख त लागेको छ नै, तर मेरा भाइजस्ता युवाहरु घाइते हुँदा झन् धेरै चिन्ता लागेको छ ।’
राय फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवका छोरा हुन् । घाइते छोरालाई भेट्न सांसद महतो अस्पताल पुग्दा उहाँ पनि खुशी हुनुभएको थियो । तर शुक्रबार सञ्चारमाध्यममा खबर आउँदा भने रामेश्वर आक्रोशित हुनुभएको छ । ‘उहाँले मलाई बिहानै फोन गरेर तपाईं त मिडिया लिएर नाटक गर्न आउनुभएको रैछ भन्नुभयो, तर म मिडिया लिएर गएको होइन, मानवीय नाताले घाइते भाइहरुलाई भेट्न गएको हो’ सांसद महतोले भन्नुभयो ।
आगजनीबाट सांसद महतोको घर पुरै जलेको छ । घरमा रहेका उहाँका श्रीमान पनि आफन्तको घरमा बस्नुभएको छ । ‘जे हुनु भैसक्यो, अब आक्रोशले होइन समझदारीले काम गर्नुपर्छ’ सांसद महतोले भन्नुभयो, ‘संविधान आइसकेपछि अब सबै मिलेर देश विकासमा लाग्नुपर्छ ।’

Post a Comment

 
Top