चितवन, साउन २६ – स्वास्थ्य निर्देशिका २०७० मा उल्लेख भएको मापदण्ड पुरा गर्न नसक्दा चितवनका अधिकांश अस्पताल नविकरण हुन सकेका छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले चितवन जिल्लाका कुनै पनि अस्पताल यो अर्थिक वर्षमा नविकरण नभएको जनाएको छन् ।

२५ शैयासम्मका जिल्लाका ६ वटा अस्पताल नविकरण नभएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत इश्वरी पोखरेलले जानकारी दिनुभयो । नविकरण नगरेका अस्पताललाई तत्काल नविकरणका लागि पत्राचार गरिएको जनस्वास्थ्य अधिकृत पोखरेलले बताउनुभयो ।
मापदण्ड पुरा नगर्ने अस्पतालको नविकरण नहुने पनि उहाँले बताउनुभयो । अस्पतालहरुले भूकम्प प्रतिरोधात्मक भवन, पार्किङ, प्रर्याप्त जग्गा, जनशक्ति, उपकरण, खानेपानी, विद्युत, आफ्नै फार्मेसी लगायतका मापदण्ड पुरा नगरेकै कारण नविकरण हुन नसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक डा.रमेश विक्रम सिंहको भनाई छ । चितवनका केही अस्पतालले भने गएको तीन चार वर्षदेखि नविकरण नगरेको निर्देशक डा. सिंहले बताउनुभयो । निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायण सिंह कुँवरले निर्देशिका अनुसार ६ वर्ष भित्रमा अस्पतालले मापदण्ड पु¥याउने मन्त्रालयमा सहमति भैसकेको भएपनि त्यसको कार्यान्वयन नहुँदा नविकरण हुन नसकेको बताउनुभयो । 
निजी अस्पताल समन्वय समितिका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका जिल्ला अध्यक्ष कुँवरले सहमतिको कार्यान्वयन नगरी विभाग, क्षेत्र, जिल्लास्थित कर्मचारीले अस्पताल सञ्चालकलाई दुःख दिने गरेको आरोप लगाउनुभयो । निर्देशिकामा स्वास्थ्य संस्था स्थापना गर्दा २५ शैया भएकालाई जिल्ला जनस्वास्थ्य कार्यालय, २६ देखि ५० शैया भएकालाई क्षेत्रीय स्वास्थ्य निर्देशनालय, ५१ देखि दुई सयसम्म शैया भएकालाई स्वास्थ्य विभाग र २ सय १ भन्दा माथि शैया भएका स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयले अनुमति दिने, नविकरण गर्ने र अनुगमन गर्ने प्रावधान छ । चितवनमा २५ शैयासम्मका ६ वटा र त्यो भन्दामाथिका सरकारी, मेडिकल कलेज र निजी अस्पताल गरी १६ वटा अस्पताल छन् । अस्पताल सम्बन्धी एकिन तथ्यांक जिल्लाका कुनै निकायमा छैन ।
जिल्ला जनस्वास्थ्य कार्यालयले २५ शैयासम्मको मात्रै तथ्यांक अद्यावधिक गरेको छ । स्वास्थ्य निर्देशिका २०७० मा अस्पताल रहने स्थान धुवाँ, धुलो, ध्वनी, जल तथा जमिन प्रदूषणबाट मुक्त हुनुपर्ने उल्लेख छ । अस्पताल सञ्चालनको लागि आफ्नै स्वामित्वको पर्याप्त जग्गा हुनुपर्ने व्यवस्था पनि छ । आफ्नो जग्गा नभएको हकमा २५ शैयाका अस्पतालले कम्तीमा पन्ध्र वर्षका लागि जग्गा भाडामा लिई पूर्वाधार निर्माण गरी सञ्चालन गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । भाडामा लिइएको भवन भने भवन संहिता मापदण्ड अनुरुप भूकम्पीय जोखिम प्रतिरोध क्षमता भएको हुनुपर्ने व्यवस्था छ ।
२५ शैया भन्दा माथि क्षमता बिस्तार गर्दा वा ५० शैया भन्दा माथि अस्पताल सञ्चालन गर्दा आफ्नै भवन हुनुपर्ने निर्देशिकामा उल्लेख छ । शिक्षण अस्पतालको हकमा मेडिकल काउन्सिलको मापदण्ड अनुसार हुनुपर्नेछ । अस्पतालको प्रत्येक कोठाहरु उपयुक्त भेन्टिलेसन वा वातानुकूलित यन्त्र (एसी) राखिएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । अस्पतालबाट निस्कने संक्रमणजन्य फोहोरलाई निःसंक्रमण गरेर अन्तिम व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
मुख्य शल्यक्रिया हुने अस्पतालमा सघन उपचार कक्ष अनिवार्य र चौबीसै घण्टा सेवा हुनुपर्छ । तर चितवनका अधिकांश अस्पतालले यी मापदण्ड पुरा गर्ने अवस्था छैन । धेरैजसो अस्पताल निजी घरमा भाडा तिरेर सञ्चालन गरिएका छन् । अधिकांशको पार्किङ सडकमा नै हुने गर्दछ । जसका कारण नविकरण थप चुनौतीपूर्ण बनेको अस्पताल सञ्चालकको भनाई छ ।

Post a Comment

 
Top