पाँचथर, असोज १३ – याङनामा ९ का पपिन्द्र फागो बिहानीको झिसमिसे उज्यालोमै अलैंची बगान पुग्नुहुन्छ । झमक्क साँझ पर्दासम्म उहाँ अलैंची बगानमै भेटिनुहुन्छ । फागोको अलैंची बगानमा सधैँजसो अरु २५ जना युवा अलैंची टिप्न व्यस्त हुन्छन् ।  

साँझ परेपछि बागानदेखि डोकोभरि अलैंची बोकेर अलैंची सुकाउने भट्टिमा जम्मा हुन्छन् सबैजना । रातमा पनि गाँउखाने कथा भन्दै अलैंची छोडाउँछन् र भट्टिमा सुकाउँछन् । ‘उज्याले हुन्जेल बगानमा अलैंची टिप्छौँ, दिउँसोभरि टिपेको अलैंची रातभरि छोडाउँदै भट्टिमा सुकाउँछौँ’ फागो दैनिकी सुनाउनुहुन्छ । यो बर्ष फागोलाई अलैंचीको काम गर्न निकै उत्साह र जाँगर छ । ‘काम गर्न निकै जाँगरलाग्दो अलैंची फलेको छ’ फागो भन्नुहुन्छ, ‘गत सालको तुलनमा दोब्बर उत्पादन भउको छ’ गत साल फागोको अलैँची बगानबाट जम्मा छ मन अलैँची उत्पादन भयो । यो बर्ष फागोले  १० मन अलैँची थन्काईसक्नुभयो । ‘अभैm अलैंची टिप्न बाँकी छ’  उहाँ थप्नुहुन्छ  ‘यो साल १८ मन भन्दा धेरै अलैंची हुन्छ मेरो ।’ फागो मात्र होइन, यो वर्ष अलैंचीले राम्रो फल दिएपछि अरु किसान पनि रमाएका छन् । सिदिन–९ पापुन्दीका तेजबहादुर आंबोले अलैंची टिपेर थन्काइसक्नुभयो । ‘यो साल छ मन अलैंची फलाएँ’ आंबोले भन्नुभयो, ‘पोहोरको भन्दा दोब्बर फल्यो, बिक्रीका लागि राम्रो मूल्यको पर्खाइमा छु ।’
कालो सुनको रुपमा चिनिएको अलैंची यहाँका कृषकहरुको आम्दानीको मुख्य स्रोत हो । दुई चार मन अलैंची उत्पादनसँग कृषकको प्रतिष्ठा जोडिएको छ । ‘ अलैंचीको उत्पादन बढ्नु भनेको हाम्रो प्रतिष्ठा बढ्नु हो’ सिदिन–७ का कृषक टेकबहादुर केरुङले भन्नुभयो । विस्तार गरिएका नयाँ बगानमा अलैंचीको राम्रो उत्पादन भएको हो । 
रोग किराको प्रकोपको कारण पुराना बगान सखाप भएपछि किसानहरु चिन्तित बनेका थिए । तर, विस्तार गरिएका नयाँ बगानबाट यो वर्ष राम्रो अलैंची उत्पादन भएपछि कृषकमा खुशीको लहर छाएको छ । ‘नयाँ बगानमा फल पनि राम्ररी नै लाग्यो’ केरुङले भन्नुभयो । 
गत बर्ष पाँचथरमा  ६ सय २७ मेट्रिकटन अलैंची उत्पादन भएको थियो । यो बर्ष झण्डै दोब्बर उत्पादन हुने अनुमान छ । 

Post a Comment

 
Top