पथरी (मोरङ), असार २० – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले क्षति ग्रस्त भएका २७ हजार २५६ घरटहरा निर्माण गरेको बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आज विराटनगरमा आयोजना गरेको पूर्वाञ्चलस्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २८ हजार एमालेका कार्यकर्ताले भूकम्पबाट प्रभावित २७ निर्वाचन क्षेत्रमा २७ हजार २५६ घरटहरा निर्माण गरेको र एक हजार विद्यालय निर्माण तथा २२ हजार भत्किएका घरको सरसफाइ गरेको उल्लेख गरे । उनले एमालेका कार्यकर्ताले भूकम्प प्रभावित क्षेत्रमा राम्ररी पुनःनिर्माणको काम गरेकाले सो क्षेत्रका जनताले फूलमाला लगाएर बिदाइ गरेको चर्चा गरे । उनले अर्को एक फरक प्रशङ्गमा एमालेले सरकारको नेतृत्वमा जान्छु नभनेको तर एमाओवादी, काँग्रेस र फोरमलगायतका दलहरुले अबको सरकारको नेतृत्व एमालेले गर्नुपर्ने धारणा राखेको खुलासा गरे ।
साभार : रातो पाटी

Post a Comment

 
Top