काठमाडौं, भदौ २ –संविधान घोषणा हुने दिन जति नजिकिंदैछ, त्यति नै देशका धेरै ठाउँमा बन्द, हडताल र प्रदर्शन बढ्दैछन् । ६ प्रदेशको सीमांकनमा असन्तुष्टी जनाउँदै भैरहेको प्रदर्शनले तराईका केही ठाउँमा उग्र रुप लिंदा जनजीवन आतंकित बनाएको छ । यसलाई संविधानमा आफ्नो अधिकार समेट्न खोज्ने नागरिकका स्वभाविक माग पनि मिसिएको छ भने सरकार र मुख्य दलका नेताहरुले संविधान बनाउन नदिने षडयन्त्रको रुपमा समेत हेरेका छन् ।  
नागरिकका सामान्य असन्तुष्टीको फाइदा उठाउँदै केही शक्तिले हिंसा भड्काउन खोजेको सरकारको मूल्याँकन छ । संसदको राज्य व्यवस्था समितिमा गृहमन्त्री बामदेव गौतमले सरकारको तर्फबाट लिखित व्यक्तव्य पेश गर्दै यस्ताखाले भड्काउमा नलाग्न आम नागरिकसँग अपील गरिएको छ । कुन कुन शक्तिले भड्काउन खोजेको भन्ने नखुलाइएपनि केही मधेसवादी दलले तराईका बिभिन्न जिल्लामा गरिरहेको प्रदर्शन र हिन्दू राष्ट्रको माग गर्दै भैरहेको अभियानलाई संकेत गर्न खोजिएको छ ।
सरकारले मात्र होइन अरु दलका नेताहरुले समेत नागरिकका जायज मागलाई भड्काएर केही शक्तिले नाजायज फाइदा लिन खोजेको टिप्पणी गरेका छन् । ‘देशैभर नागरिकका जायज आकांक्षालाई भड्एर अप्रिय स्थिति सिर्जना गर्ने प्रवृत्तिप्रति सबै सतर्क रहनु परेको छ’ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।
मंगलबार विशेष समितिको बैठकपछि भट्टराईले फेसबुक पेजमार्फत सार्वजनिक गर्नुभएको टिप्पणी यस्तो छ :
आज विशेष समिति वैठकमा पुच्छर छिर्यो हात्ती अड्क्यो भनेजस्तो भयो !
सम्पत्तिको हकमा वौद्धिक सम्पत्तिू थप्ने, स्वतन्त्रताको हकमा नेपालको कुनै पनि भागमा पेशा, व्यवसाय गर्ने, स्वतन्त्रता थप्ने, आदि केही सकारात्मक सहमति भए। 
नागरिकताको मुद्दामा लैंगिक समानता कायम गर्ने विषयमा परम्परगत पितृसत्तात्मक चिन्तनमाथि लाख कोशिश गर्दा पनि विजय हासिल गर्न सकिएन। यस मामिलामा हाम्रा मधेसी मित्रहरु झन् कन्जरभेटिभ पाइयो !
गणतन्त्रको अभिन्न पिलर धर्मनिरपेक्षता परित्याग गर्न लोकतान्त्रिक र वामपन्थीु कित्ताकै मित्रहरुले कमल थापाहरुलाई समेत उछिन्ने गरी आतुरता देखाएको पाउँदा क्रान्तिको रापताप सेलाउँदै गए पछि सबै क्षेत्रमा प्रतिगमन कसरी मुखरित हुँदो रहेछ निकै चिन्तित तुल्याएको छ।
सीमांकनको विषय सवभन्दा पेचिलो भैहाल्यो ! आज विभिन्न विकल्प प्रस्तुत भएका छन्। भोलि टुंग्याउने सहमति भएकोछ !
देशैभर जनताका जायज आकांक्षालाई भट्काएर अप्रिय स्थिति सिर्जना गर्ने प्रवृत्तिप्रति भने सबै सतर्क रहनु परेको छ।

Post a Comment

 
Top