भक्तपुर, साउन २६ – वैशाख १२ गतेको भूकम्पले घर भत्काएर मिटर बक्स नै पुरिएपनि भक्तपुर नगरपालिका दत्तात्रयका पञ्चबहादुर गुजारीले भने तीन महिनाको ब्याज सहित विद्युत महसुल तिर्नुभयो । 

मंगलबार नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखामा आएर महसुल तिर्दै गर्दा भेटिएका गुजारीले भूकम्पपछि विद्युत सेवा नै नलिएपनि महसुल भने ब्याज सहित तिर्नु परेको बताउनुभयो । गुजारी मात्रै होइन अरुपनि भूकम्पले घर भत्काएर बत्ति नै नबालेका पीडितलाई सरकारले सेवा नलिएको अबधीको शुल्क मिनाहा नगरेपछि ब्याज सहित महसुल तिर्न बाध्य भएका छन् ।
सरकारी सेवा नै नलिए पनि शुल्न तिर्नुपर्ने सरकारी नियमका कारण थप मारमा पर्नु परेको बताउँदै भक्तपुरका भूकम्प पीडितले सेवा नलिएको अबधीको शुल्क मिनाहा गर्न माग गरेका छन् । महसुल तिर्दै गरेका चाँगुनारायण नगरपालिका–२ छालिङका सुवर्ण वाटाको गुनासो पनि उस्तै नै छ । भूकम्पले घर भत्किएर मिटर नै पुरिएपनि प्राधिकरणबाट महसुलको बिल गएपछि तीन महिनाको ब्याज सहित महसुल तिर्न आएको उहाँले बताउनुभयो ।
‘सेवा सुविधा नलिएपछि महसुल पनि सरकारले नलिनु पर्ने हो, सरकारले भूकम्प पिडितलाई छुट गर्नुपर्ने रकम पनि छुट गर्दैन, १२ गतेको भूकम्पले घर भत्काए पछि बत्ति बालेकै छैन, तर महसुल भने तिर्नुपर्छ, सरकारले नै हामीलाई पीडित बनायो ।’ भूकम्पले घर भत्काएपछि अस्थायी शिविरमा बस्दै आउनुभएकी ईनाचोकी कृष्णमाया गोथेले पनि महसुल भने तिर्नु भएको छ । भूकम्पले घर भत्काए पछि अस्थायी शिविर मै बस्दै आएपनि विद्युत महसुल भने तिर्नुपरेको उहाँले बताउनुभयो ।
भक्तपुर खौमा की प्रमिला रायको गुनासो पनि उस्तै नै छ । भूकम्पले घर भत्काएपछि ३ महिना विद्युत सेवा नै नलिई साउन पहिलो हप्ता नजिकै टहरामा विद्युत जडान गर्न माग गर्दा उल्टै थप रहकम लिएको उहाँले बताउनुभयो । रायले भन्नुभयो ‘भूकम्पपछि बत्ति बालिएन, साउन लागेपछि नजिकै टहरामा भत्किएको घरको लाईनसँगैको टहरामा जोड्न जादा पनि व्याज सहित महसुल र बक्सको पैसा भन्दै थप ८ सय रुपैयाँ लियो, छुट कतै छैन ।’
भूकम्प पीडित भएर विद्युत सेवा नै नलिए पनि पछि विद्युत जडान गर्न गाह्रो हुने र ब्याज थपिँदै जाने डरले भक्तपुरका सबै भूकम्प पीडितले सेवा नलिएपनि शुल्क तिर्दै आएका छन् । नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाका निमित्त प्रमुख लखनलाल साहले भूकम्प पछि विगतमा उठ्न बाँकी महसुल समेत संकलन भएको बताउनुभयो । घर भत्किएर विद्युत सेवा नलिएपनि लगत कट्टा नगर्ने ग्राहकले भने न्यूनतम महसुल तिर्ने पर्ने उहाँले बताउनुभयो । लगत कट्टा गरेका ग्राहकको मिटर सुरक्षित राखिदिएर पछि त्यही मिटर जडान गरिदिने भएकाले निःशुल्क जडान गरिदिने व्यवस्था गरेको बताउनुभयो ।
भक्तपुर जेलाँका भूकम्प पीडित मोहन प्रजापतिको घर भत्किएपछि प्राधिकरणले नै आएर लाईन काटिदिएको भएपनि न्यूनतम शुल्क भने तिर्नु परेको बताउनुभयो । प्राधिकरणका निमित्त प्रमुख साहले भन्नुभयो ‘प्राधिकरणले लाईन काटे पनि ग्राहकले निवेदन दिएर लगत कट्टा नगराएसम्म न्यूनतम शुल्क तिर्नुपर्छ, केहीले लगत कट्टा गराएका छन्, उनीहरुको शुल्क लाग्दैन ।’
भूकम्प पीडितलाई महसुलमा छुट दिने माथिल्लो निकायबाट कुनै निर्णय वा निर्देशन आएमा मात्रै छुट दिन सकिने उहाँको भनाई छ । भक्तपुरमा भने पछि मिटर जडान गर्न झन्झट हुने र थप रकम लाग्ने डरले सेवा नै नलिए पनि महसुल भने तिर्दै आएका छन् ।

Post a Comment

 
Top