चितवन, साउन २३ - नारायणघाट–मुग्लिन सडक
खण्ड फराकिलो बनाउने काम तीव्र रुपमा हुन थालेको छ । अहिले निर्माण
कम्पनीहरुले ठाउँठाउँमा क्याम्प खडा गरेर विस्तारकोे काम सुरु गरेका छन् ।
नारायणगढदेखि मुग्लिनसम्म ६ वटा क्याम्प खडा गरिएको छ । आर्थिक वर्ष
२०७०/७१ को बजेटमा ३ अर्ब रुपैयाको बजेट विनियोजन भएपछि आँपटारीदेखि
मुग्लिनसम्मको ३४ किलोमिटर सडकखण्डको पुनर्निर्माण काम शुरू गरिएको हो ।
खुला क्षेत्रमा ११ मिटर र जटिल र पहाडी
क्षेत्रमा ७ मिटर चौडाइको सडक निर्माण गर्ने गरी तीव्रताका साथ
पुनर्निर्माणको काम अघि बढेको छ । पुन निर्माण पश्चात यो सडकखण्ड अहिलेको
तुलनामा दोब्बर बढी चौडाइको हुनेछ ।
काठमाडौं पोखरा जाने महत्वपूर्ण मार्गलाई
जोडने नारायणगढ मुग्लिन सडकखण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको सडक
बनाउन लागिएको हो । तीन अर्ब रूपैयाँको लागतमा निर्माण हुन लागेको यो
सडकको काम दुई वर्षभित्रै सक्ने लक्ष्य छ । पाँच मिटर फराकिलो पिचलाई ११
मिटरसम्म फराकिलो बनाइने सडक निर्माण आयोजनाका प्रमुख चन्द्र नारायण यादवले
बताउनुभयो ।
नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात
आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर बढाउने काम
हुन लागेको हो । निर्माणका लागि सडक तीन खण्ड बनाएर फरकफरक निर्माण
कम्पनीलाई ठेक्का दिइएको छ । सबै निर्माण कम्पनीले विभिन्न स्थानमा क्याम्प
खडा गरी कामलाई तिव्र रुपमा अगाडी बढाएको प्रमुख यादवले बताउनुभयो ।
नारायणगढदेखि सडक फराकिलो पार्दै
मुग्लिनसम्म ल्याइनेछ । नारायणगढदेखि १६ किलोमिटर दुरीसम्म सडक ११ मिटर
फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने प्रमुख
यादवले जानकारी दिनुभयो ।
आँपटारीदेखि झण्डै १३ किलो मिटरसम्मको
खण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई ठेक्का दिइएको आयोजनाका प्रमुख
यादवले बताउनुभयो । ६० करोड १० लाख ६३ हजार रूपैयाँको लागतमा बन्ने यो
खण्डको निर्माण सम्झौता २४ अप्रिलमा भएको थियो । प्रमुख यादवका अनुसार
त्यसपछिको २३ किलो मिटरसम्मको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई
दिइएको छ । सो खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रूपैयाँ रहेको छ । ३१
मार्चमा यो खण्डको निर्माण सम्झौता भएको थियो । त्यसअघि २३ मार्चामा भएको
सम्झौताअनुसार सुप्रिम तथा रौताहा निर्माण कम्पनीलाई साढे २३ किलो मिटरदेखि
मुग्लिनसम्मको निर्माणको जिम्मा दिइएको छ । सो खण्डको निर्माण लागत
सबैभन्दा धेरै एक अर्ब ३० करोड ४२ लाख ६८ हजार रुपैया रहेको प्रमुख यादवले
बताउनुभएको छ ।
सम्झौता भएको २४ महिनाभित्र निर्माण सक्ने
शर्त भएको योजनाका प्रमुख यादवले बताउनुभएको छ । आउँदो डिसेम्बरसम्म १५
प्रतिशत काम सक्ने भन्ने सम्झौता रहेको जानकारी दिदै प्रमुख यादवले
महत्वपूर्ण मार्ग भएकाले तोकिएकै समयमा काम सक्ने तयारीमा लागेको बताउनुभयो
। नारायणगढ र गोरखा जोड्ने सडक सन् १९८२ मा चीन सरकारको सहयोगमा यो सडक
निर्माण भएको थियो । नारायणगढ देखि मुग्लिनसम्म सो सडकको लम्बाई ३६ किलो
मिटर छ । पोखरा र काठमाडौंलाई जोड्ने मुख्य मार्ग भएकाले सो सडक खण्डमा
दैनिक आठ हजारभन्दा धेरै गाडी आवत जावत गर्ने गर्छन ।

Post a Comment