ललितपुर, साउन २३ – स्कुल बसका चालकले जथाभावी चलाएर दुर्घटना बढ्न थालेको भन्दै ललितपुर ट्राफिक प्रहरीले विशेष अभियान थालेको छ । स्कुल बसका चालक र सहचालकका लागि ट्राफिक नियम सम्बन्धी कक्षा सुरु गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेतुले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारदेखि ललितपुरका सबै स्कुलमा पुगेर कक्षा लिने तयारी छ ।
विद्यार्थीलाई स्कुल र घर ओहोरदोहोर गराउँदा बसको ढोका खुलै राख्ने, चालकले जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा र जथाभावी ओभरटेक गर्ने जस्ता समस्या देखिएकाले यसलाई नियन्त्रण गर्न अभियान थालिएको हाछेतुले बताउनुभयो । स्कुलको काम सकिने बित्तिकै अरु यात्रु ओसार्न हतार गर्ने प्रवृत्तिले दुर्घटना हुने गरेको उहाँको भनाई छ । गएको १० गते ज्ञानोदय स्कुलको बसले पुल्चोकमा मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको ज्यान गएको थियो । 
दुर्घटना कम गराउन चालकलाई कक्षासँगै पार्किङ व्यवस्थित गर्ने काम पनि सुरु हुने हाछेतुले बताउनुभयो । ललितपुरका मुख्य सडकमा स्कुल बसका लागि छुट्टै बिसौनी राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । 

Post a Comment

 
Top